शंकर गणेश /रक्सौल
भारतको बिहार विधानसभा चुनावको मतगणना आज बिहान सवा ८ बजे (नेपाली समयअनुसार) बाट शुरू भएको छ। प्रारम्भिक नतिजा बिहान पौने ९ बजेपछि आउन थाल्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।
२४३ वटै सिटका लागि सबैभन्दा पहिले हुलाक मतपत्रहरूको गणना गरिँदैछ। गणना केन्द्रहरूमा दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारका एजेन्टहरू उपस्थित छन्। उनीहरूले मतपेटिकाका छाप तथा आवश्यक विवरण जाँच गरिरहेका छन्।
यस पटकको चुनावी नतिजाले बिहारमा पुनः राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) नेतृत्वको सरकार बन्ने अथवा विपक्षी महागठबन्धन सत्तामा आउने भन्ने निर्णय हुनेछ। नतिजाले राज्यको अर्को मुख्यमन्त्री को हुने भन्ने विषय पनि स्पष्ट पार्नेछ।
मुख्य प्रतिस्पर्धा जनता दल युनाइटेड (जेडीयू) का नेता तथा बहालवाला मुख्यमन्त्री नीतीश कुमार नेतृत्वको एनडीए र राष्ट्रिय जनता दल (आरजेडी) का तेजस्वी यादव नेतृत्वको महागठबन्धनबीच रहेको छ। यसपटक प्रशान्त किशोरको जन सुराज अभियानले धेरै क्षेत्रमा परिणाममा प्रभाव पार्ने आकलन विश्लेषकहरूले गरेका छन्।
मतगणना ३८ जिल्लामा स्थापना गरिएका ४६ वटा केन्द्रहरूमा भइरहेको छ। आज प्राप्त हुने नतिजाले जनताले नीतीश कुमारलाई लगातार पाँचौं कार्यकाल दिने कि परिवर्तनको विकल्प छान्ने भन्ने कुरामा अन्तिम निर्णय गर्नेछ।















