२०८२ कार्तिक २८ गते, शुक्रबार १८:४४

प्रलोभनमा नपर्न सर्वसाधारणलाई प्रहरीको आग्रह

वीरगन्ज-
जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको तीन जना विद्युतीय ठगलाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलनको आयोजना गरी कृत्रिम बुधिमता (ए.आई.) को प्रयोग गरी १० करोडभन्दा बढी ठगी गरेको अभियोगमा पक्राउ परेका एक जना नाबालकसहित तीन जनालाई सार्वजनिक गरेको हो।

प्रहरीले ठगीको आरोपमा पक्राउ परेका वीरगन्ज महानगरपालिका–२९, मुसैली निवासी ३५ वर्षीय कृष्णप्रसाद साह, बाराको विश्रामपुर गाउँपालिका–१ निवासी २१ वर्षीय राहुल मण्डल तथा एक जना नाबालकलाई सार्वजनिक गरेको हो।

वीरगन्जका विभिन्न औद्योगिक प्रतिष्ठान तथा व्यापारिक घरानाको लेटरपेड र विभिन्न बैंकका नक्कली भौचर ए.आई. को प्रयोगले बनाई करोडौँ मूल्यका मालसमान गठी गरेको अभियोगमा एक जना १४ वर्षीय नाबालकसहित दुई जना युवालाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदिप पाठकले जानकारी दिनुभयो। उहाँले कृत्रिम बुधिमताको उपयोग गरी अभियुक्तहरूले विभिन्न कम्पनीको नाममा माल–वस्तु खरिदका लागि पत्र पठाउने र ती वस्तुको मूल्य बैंक खातामा जम्मा भएको नक्कली भौचर देखाइ ठगी गर्ने गरेको बताउनुभयो।

आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसपी पाठकले सानो धनको लालच देखाएर ठगहरूले आफ्नो अभिष्ट साधने गरेकाले लोभमा नपर्न सर्वसाधारणलाई अपिल गर्नुभयो।

राम्रा तलब–सुविधासहित जागिरका लागि विदेश पठाइदिनेजस्ता विभिन्न प्रलोभनमा पारी ठगहरूले सर्वसाधारणको नगद तथा जिन्सी गठने गरेकाले सबैलाई सचेत रहन उहाँले आग्रह गर्नुभयो।

सामाजिक सञ्चारमाध्यममा देखिने आकर्षक विज्ञापनमार्फत ठगहरूले सर्वसाधारणलाई फसाउने गरेको पाइने भएकाले त्यस्ता विज्ञापन वा सामग्री भेटिए तत्काल प्रहरीलाई जानकारी दिन एसपी पाठकले अपिल गर्नुभयो।

वीरगन्जमा भइरहेका ठगीका विषयमा गुनासा प्राप्त भएको ४८ घण्टा नबित्दै प्रहरीले ठगीमा संलग्न रहेका तीन जना तथा शंका लागेका दुई जनालाई हिरासतमा लिएको जानकारी दिनुभयो। एआईको उपयोगले नक्कली बैंक भौचरलगायतका कागजात तयार गरी ठगी गर्ने गिरोहका मुख्य नाइके विदेशमा रहेकाले पहिचान खुले पनि पक्राउ गर्न नसकिएको एसपी पाठकले जनाउनुभयो।

गुनासोको उजुरी प्राप्त भएपछि घटनामा संलग्न रहेका कृष्णा সাহलाई वीरगन्जको नयाँ बसपार्कस्थित प्रभु अस्पताल नजिकैबाट पक्राउ गर्दा उनको साथबाट विभिन्न व्यक्तिका नाममा रहेका फरक–फरक बैंकका ४८ वटा एटिएम कार्ड बरामद गरिएको उहाँले बताउनुभयो।

पक्राउ परेका साहबाट बरामद भएका एटिएम कार्डबारे गरिएको छानबिनमा विभिन्न व्यक्तिबाट १० करोडभन्दा बढी रकमको कारोबार भएको तथ्य खुलेको एसपी पाठकले जानकारी दिनुभयो।

पोडकास्ट सुन्नुहोस