जनकपुरधाम-
मधेस प्रदेशका पदबाट बर्खास्त गरिएका प्रदेशसभा सदस्यहरूले सभामुख रामचन्द्र मण्डलको निर्णय पूर्वाग्रही, असंवैधानिक र दलीय इसारामा आधारित भएको आरोप लगाएका छन्। प्रदेशसभा सचिवालयमा आज जानकारी लिन पुगेका पाँचै सांसदहरूले आफूहरूले माग गरेको न त हाजिरी विवरण उपलब्ध गराइयो न त कारबाहीसम्बन्धी प्रतिवेदन, उल्टो कर्मचारीहरूले जानकारी दिने नाममा “चार घण्टा कुर्सी ताताइएको” आरोप गरेका छन्।
पूर्वमन्त्री तथा सर्लाहीका सांसद सञ्जयकुमार यादवले सभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गरिएपछि प्रतिशोधस्वरूप आफूहरूलाई पदबाट हटाइएको दाबी गरे। उनले भने-
“हामी प्रदेशसभामा पहिलेदेखि सक्रिय थियौँ, तर कहिल्यै यस्तो निर्णय भएन। महाअभियोग दर्ता भएको भोलिपल्टै पद रिक्त भएको घोषणा हुनु राजनीतिक बदला र सभामुखको उदण्डता हो।”
यसअघि सभामुख मण्डलले लगातार १० बैठकमा अनुपस्थित रहेको आधारमा गत बिहीबार पाँच सांसदको पद रिक्त घोषणा गरेका थिए। पदबाट हटाइएकामध्ये उर्मिलादेवी सिंह, मनीषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन कलवार र शारदाशंकरप्रसाद कलवार रहेका छन्। सो निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशन भइसकेको छ।
बर्खास्त गरिएका सांसदहरूले सो निर्णयविरुद्ध कानूनी उपचार खोज्ने तयारी भइरहेको बताइएको छ। प्रदेशसभामा उत्पन्न राजनीतिक तनावले मधेस प्रदेशको सत्ता समीकरण र आगामी सत्रको कार्यशैलीमा थप अनिश्चितता पैदा भएको छ।














