२०८२ कार्तिक २९ गते, शनिबार ०८:५७

श्रीनगरको नौगाम प्रहरी चौकीमा भीषण विस्फोट, ९ जनाको मृत्यु र २९ घाइते

काठमाडौं –

शुक्रबार मध्यरातमा श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा ९ जनाले ज्यान गुमाएका छन् भने २९ जना घाइते भएका छन्। विस्फोटको तीव्रता यति ठूलो थियो कि चौकीको एक भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने पार्किङमा राखिएका धेरै सवारी साधन जलेर नष्ट भएका छन्।

प्रहरीका अनुसार यो घटना आतंकवादी आक्रमण नभई दुर्घटना हो। दिल्ली विस्फोटसँग सम्बन्धित जैश-ए-मोहम्मद र अंसार गजवात–उल–हिन्दसँग जोडिएका व्यक्तिहरूबाट फरिदाबादमा बरामद गरिएको अमोनियम नाइट्रेट नै विस्फोटको कारण बनेको बताइएको छ।

डीएसपी, अधिकारीहरू उपस्थित रहँदा विस्फोट

विस्फोट हुँदा चौकी परिसरमा डीएसपी स्तरका एक अधिकारी, तहसीलदार तथा अन्य प्रहरी कर्मचारीसहित करिब ५० जना उपस्थित थिए। मृतकमध्ये एक प्रहरी इन्स्पेक्टर सहित ८ सुरक्षाकर्मी भएको पुष्टि गरिएको छ।

घाइतेमध्ये २४ जना प्रहरीले कर्मचारी रहेको बताइएको छ। तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई सेनाको बेस अस्पतालमा भर्ना गरिएको छ। अन्य घाइतेहरू श्रीनगरका विभिन्न अस्पतालमा उपचाररत छन्।

बरामद रासायनिक पदार्थमै विस्फोट

प्रहरीका अनुसार फरिदाबादबाट बरामद गरिएको ३६० किलो अमोनियम नाइट्रेटमध्ये केही भाग परीक्षणका लागि प्रयोगशालामा लगिएको थियो भने बाँकी भाग नौगाम चौकीको गोदाममा भण्डारण गरिएको थियो।

सोही गोदाममा राखिएको रासायनिक पदार्थमा मध्यरात अचानक विस्फोट भएको प्राथमिक निष्कर्ष प्रहरी पक्षले सार्वजनिक गरेको छ।

जाँच समिती गठन

घटनापछि सुरक्षा निकायहरूले चौकी वरिपरि सुरक्षा व्यावस्था कडा बनाएका छन्। विस्फोटका कारण, सुरक्षा त्रुटि र भण्डारण प्रक्रिया सम्बन्धी उच्चस्तरीय अनुसन्धान टोली गठन गरिएको बताइएको छ।

यो घटना हालैका वर्षहरूमा जम्मु–कश्मीरमा सुरक्षासम्बन्धी संरचनामा भएको सबैभन्दा ठूलो दुर्घटनामध्ये एक मानिएको छ।

पोडकास्ट सुन्नुहोस