वीरगन्ज –
‘राष्ट्रका लागि २ घण्टा’ भन्ने नारासहित आजदेखि वीरगन्जमा ट्राफिक व्यवस्थापनमा विश्वविद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता सुरु गरिएको छ। मधेस विश्वविद्यालयका विद्यार्थीहरूलाई ट्राफिक प्रहरीको सहकार्यमा स्वयंसेवकका रूपमा जिम्मेवारी दिइएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले शहरमा बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ र व्यस्त सडक व्यवस्थापन सुधार गर्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरेको छ।
प्रहरी उपरीक्षक (एसपी) युवराज कटुवालका अनुसार, विद्यार्थीहरूलाई सडक सुरक्षा, ट्राफिक नियम, भिडभाड व्यवस्थापन र आकस्मिक अवस्था नियन्त्रणबारे आवश्यक प्रशिक्षण दिइसकिएको छ। प्रशिक्षित स्वयंसेवकहरूलाई घण्टाघर, वीरगञ्ज बसपार्क, पावर हाउस चौक, आदर्शनगर लगायतका भीडभाड क्षेत्रहरूमा खटाइनेछन्।
एसपी कटुवालले अभियान युवालाई सामुदायिक सुरक्षामा जिम्मेवार बनाउने प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरे। उनका अनुसार, “यो अभियानले शहरको ट्राफिक मात्र सुचारु बनाउने छैन, युवामा नेतृत्व क्षमता, नागरिक दायित्व र सुरक्षा प्रतिको व्यवहारिक चेतना पनि विकास गर्छ।”
ट्राफिक प्रहरीले सुरक्षित सडक, व्यवस्थित चहलपहल र दुर्घटनारहित यात्रा सबैको साझा जिम्मेवारी भएको बताउँदै स्थानीय नागरिक र सवारी चालकसमक्ष नियमपालन गर्न आग्रह गरेको छ।
यसअघि यस्ता अभियानहरूमा नागरिक सहभागिता सीमित रहेकोमा, यसपटक विश्वविद्यालयस्तरबाट सुरु गरिएको पहललाई प्रभावकारी मोडेलका रूपमा हेरिएको छ। वीरगञ्जमा ट्राफिक व्यवस्थापन चुनौती भइरहेका बेला विद्यार्थीको सक्रिय उपस्थितिले शहरको यातायात प्रणाली सहज बनाउने अपेक्षा गरिएको छ।















