२०८२ मंसिर ३ गते, बुधबार ०५:२७

प्रदेश सभा बैठक डाक्न माग गर्दै उपसभामुखलाई पत्र, कर्मचारी अभाव भएको जवाफ

जनकपुर –

मधेश प्रदेश सभाका ३२ जना सांसदले प्रदेश सभाको बैठक बोलाउन उपसभामुख बबिता कुमारी राउत ईसरलाई आग्रह गरेका छन् ।

मंगलबार जनकपुरधामस्थित मधेश प्रदेश सभामा प्रत्यक्ष रुपमा ३२ जना सांसद पुगेर उपसभामुख राउतलाई बुधबार बैठक बोलाउन भनी निवेदन दिएका छन् । गत कार्तिक २७ गते मधेश प्रदेशका ६४ जना सांसदले सभामुख रामचन्द्र मण्डलले पद अनुकुल आचरण नगरेको भन्दै महाभियोग दर्ता गराएका थिए ।

महाभियोग दर्ता भएको सात दिनभित्र बैठक बसि छलफल गर्नुपर्ने नियम रहेकाले ३२ जना सांसद उपस्थित भएर उपसभामुख राउत सभक्ष पत्र बुझाएको नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरत साहले जानकारी दिए ।

पत्र बुझ्दै उपसभामुख राउतले प्रदेश सभा बैठक बोलाउन आफू तयार रहेको तर कर्मचारी कोही विदामा र कोही सम्पर्कविहीन रहेको बताइन । उनले कयौं पत्रहरु दर्ता गर्नुपर्ने रहेकामा दर्ता गर्नेसमेत कर्मचारी नरहेकोले काम गर्न अप्ठ्यारो भइरहेको बताइन ।

उपसभामुख राउतले अब कर्मचारी व्यवस्थापन लगायतका समस्याहरु मधेश प्रदेशका प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णलाई जानकारी गराउने बताइन ।

उपसभामुख राउतका अनुसार सभामुख मण्डलमाथि महाभियोग दर्ता भएका दिनदेखि मधेश प्रदेश सभाका अधिकांश कर्मचारीहरु विदामा गएका छन् भने अन्य कर्मचारीहरु सम्पर्कविहीन भएका छन् । मधेश प्रदेश सभाको अधिकांश कामकाजहरु अहिले ठप्प रहेको उनले जानकारी दिइन् ।

पोडकास्ट सुन्नुहोस