जनकपुरधाम –
जनकपुरधाम उपमहानगरपालिका–४ कटैया चौरीमा ससुराली भएकी रोशनी झाको शंकास्पद मृत्युप्रकरणमा प्रहरीले आइतबार उनका श्रीमान् प्रशान्त मिश्रलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार घटनास्थलको अनुसन्धान र प्रारम्भिक प्रमाणका आधारमा प्रशान्तको प्रत्यक्ष संलग्नता देखिएको छ।
गत बिहीबार राति रोशनीलाई श्रीमान् प्रशान्तले भ¥याङ्गबाट लडेको भन्दै जनकपुरधामस्थित गोदावरी अस्पतालमा भर्ना गराएका थिए। तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। ससुराली पक्षले घटनालाई कहिले आत्महत्या त कहिले भ¥याङ्गबाट लडेको भनेर अस्पष्ट अभिव्यक्ति दिँदै आएका छन् भने माइती पक्षले घाँटी थिचेर हत्या गरिएको आरोप लगाउँदै न्यायका लागि प्रहरीमा गुहार माग्दै आएको छ।
प्रहरीले कुनै सुनुवाइ नगरेपछि स्थानीयको सहयोगमा चौतर्फी दबाब सिर्जना भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगमबहादुर कुँवरले घटनास्थलको स्थलगत निरीक्षण गरेका थिए। सोही क्रममा रोशनीका ससुरा रुद्रनारायण मिश्रलाई पक्राउ गरिएको थियो। तर अनुसन्धानमा ससुरा घटनाको दिन काठमाण्डूमा रहेको प्रमाणित भएपछि उनलाई रिहा गरिएको जिप्रका धनुषाका डिएसपी गणेश बम भट्टले बताए।
डिएसपी भट्टले भने, “घटनास्थलबाट ससुरालाई पक्राउ गरिए पनि अनुसन्धानमा उनी संलग्न नदेखिएपछि रिहा गरियो। तर श्रीमान् प्रशान्तको प्रत्यक्ष संलग्नता देखिएपछि पैतृक गाउँ पर्साहीबाट पक्राउ गरिएको हो।”
एसपी कुँवरले घटनास्थल निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, “मृतकको घाँटीमा निलडाम देखिएको छ। तर यो हत्या हो वा आत्महत्या, अनुसन्धानपछि मात्र भन्न सकिन्छ।”
माइती पक्षका एक सदस्य तथा रोशनीका मामा पंकज झाले प्रहरीमाथि जाहेरी दर्ता नगरेको आरोप लगाएका छन्। उनले भने, “हामी दर्जनौं जनाको सहभागितामा जिप्रका पुग्यौं, तर प्रहरीले पोष्टमार्टम रिपोर्ट नआएको भन्दै जाहेरी राखेर दर्ता गरेनन्।” पीडित पक्षले आरोपित पक्षले प्रमाण नष्ट गरेको भन्दै जाहेरी तत्काल दर्ता गरी अनुसन्धान अघि बढाउन माग गरेको छ।
डिएसपी भट्टले भने, “जाहेरी लिई मिसिलमा राखेर अनुसन्धान गरिसकेका छौं।” प्रहरीले थप अनुसन्धान जारी राखेको छ।














