२०८२ पुष ११ गते, शुक्रबार १४:४६

माओका विचार आज पनि सान्दर्भिक छन् : प्रचण्ड

काठमाडौं –

विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता अध्यक्ष माओत्सेतुङको १३३ औँ जन्मजयन्तिको अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओका विचार आजको विश्व परिस्थितिमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।

जन्मजयन्तिको अवसरमा जारी शुभकामना सन्देशमार्फत प्रचण्डले साम्राज्यवाद, नवउदारवाद र पूँजीवादी शोषणका कारण विश्वभर सामाजिक असमानता बढ्दै गएको, राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप तीव्र भएको र जनजीवन संकटग्रस्त बन्दै गएको उल्लेख गरेका छन् । यस्तो परिस्थितिमा माओले अघि सारेका विचार, संघर्षको मार्ग र सामाजिक अन्तर्विरोध समाधान गर्ने वैज्ञानिक दृष्टिकोण आज पनि मार्गदर्शक रहेको उनको भनाइ छ ।

माओले देखाएको बाटो केवल ऐतिहासिक स्मरण मात्र नभई राष्ट्रिय स्वाधीनताको रक्षा, उत्पीडित वर्गको मुक्ति, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण र जनताको स्वामित्वमा आधारित लोकतन्त्र स्थापनाको व्यावहारिक मार्गदर्शन भएको प्रचण्डले बताएका छन् ।

शुभकामना सन्देशमा उनले सामन्तवाद अन्त्यको वैचारिक र व्यवहारिक सङ्घर्षको एक चरण पूरा भइसकेको उल्लेख गर्दै त्यसले क्रान्तिकारी शक्तिको वैचारिक स्पष्टता, संगठनात्मक क्षमता र प्रतिबद्धतालाई थप सुदृढ बनाएको बताएका छन् । माक्र्स, लेनिन, माओ र नेपाली क्रान्तिकारी अनुभवको संश्लेषण गर्दै समाजवादी क्रान्तिको दिशामा दृढताका साथ अघि बढ्नु अहिलेको प्रमुख कार्यभार भएको उनको भनाइ छ ।

प्रचण्डले अवसरवाद, वैचारिक विचलन, आत्मसमर्पण र अराजकतावादजस्ता प्रवृत्तिविरुद्ध निर्मम वैचारिक तथा राजनीतिक सङ्घर्षबिना समाजवादी क्रान्ति सफल हुन नसक्ने उल्लेख गर्दै विचारमा स्पष्टता, व्यवहारमा एकता र संघर्षमा दृढतालाई माओ दिवसको सार्थक अर्थका रूपमा व्याख्या गरेका छन् ।

माओ दिवसको अवसरमा उनले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समानतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपीलसमेत गरेका छन् ।

पोडकास्ट सुन्नुहोस