२०८२ पुष ११ गते, शुक्रबार १६:५८

पर्सा एमालेमा चुनावी सरगर्मी: क्षेत्र नम्बर १ मा नवराज शर्मा र १ वा २ मा बिचारी यादवको चर्चा

वीरगन्ज-
आगामी निर्वाचनको मिति नजिकिँदै गर्दा पर्सामा नेकपा (एमाले) भित्र उम्मेदवार छनोटलाई लिएर राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ।

विशेषगरी प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका प्रभावशाली नेताहरूको नाम चर्चामा आएसँगै चुनावी जोडघटाउ सुरु भएको हो।

एमाले सम्बद्ध स्रोतका अनुसार नेकपा एमाले वीरगन्ज महानगरपालिकाका पूर्व अध्यक्ष एवं महाधिवेशन प्रतिनिधि नवराज शर्माले पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने तयारी थालेका छन्।

पार्टी संगठनमा लामो समयदेखि सक्रिय र स्थानीय स्तरमा बलियो प्रभाव रहेका शर्माको नाम क्षेत्र नम्बर १ का लागि बलियो दाबेदारका रूपमा हेरिएको छ।

यसैगरी, नेकपा एमाले मधेस प्रदेशका उपाध्यक्ष एवं वीरगन्ज महानगर इन्चार्ज बिचारी यादवको उम्मेदवारीलाई लिएर पनि राजनीतिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ। प्रभावशाली नेताका रूपमा चिनिएका यादवले पर्सा क्षेत्र नम्बर १ वा २ मध्ये कुनै एक क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्ने बताइएको छ। यद्यपि, उनले कुन क्षेत्रबाट निर्वाचन लड्ने भन्ने विषयमा हालसम्म ठोस निर्णय भइनसकेको स्रोतको दाबी छ।

यादवको व्यवस्थापन र निर्वाचन क्षेत्रको अन्योलले गर्दा कार्यकर्ता माझ कौतुहलता बढेको छ। पार्टीको आन्तरिक रणनीति र समीकरणका आधारमा मात्र उनले क्षेत्र तय गर्ने सम्भावना छ।

पर्सा एमालेका दुई हेभीवेट नेताहरूको नाम चर्चामा आएसँगै जिल्लाको राजनीतिले नयाँ मोड लिएको छ। यी दुवै नेताहरूको चुनावी तयारी र पार्टीको अन्तिम निर्णयले पर्साको चुनावी नतिजामा ठुलो प्रभाव पार्ने विश्लेषण गरिएको छ।

पोडकास्ट सुन्नुहोस