२०८२ पुष १६ गते, बुधबार १५:०२

मेलानोमा क्यान्सरले प्रतिरक्षा कोष निष्क्रिय बनाउने नयाँ संयन्त्र पत्ता लाग्यो

तेल–अभिभ (इजरायल)

वैज्ञानिकहरूले छालाको सबैभन्दा घातक क्यान्सर मानिने मेलानोमा ले प्रतिरक्षा प्रणालीलाई कसरी निष्क्रिय बनाउँछ भन्ने महत्वपूर्ण संयन्त्र पत्ता लगाएका छन्। यो खोजले भविष्यमा मेलानोमा क्यान्सरको उपचारमा ठूलो परिवर्तन ल्याउन सक्ने विश्वास गरिएको छ।

तेल–अभिभ विश्वविद्यालयको ग्रे फ्याकल्टी अफ मेडिकल एण्ड हेल्थ साइन्सेजको नेतृत्वमा गरिएको अन्तर्राष्ट्रिय अध्ययन अनुसार मेलानोमा क्यान्सर कोषहरूले एक्स्ट्रासेलुलर भेसिकल्स (EVs) नामका सूक्ष्म बुलबुलाजस्ता संरचना स्राव गर्छन्। ती भेसिकल्स प्रतिरक्षा कोषहरूसँग टाँसिएर क्यान्सरविरुद्ध आक्रमण गर्ने तिनको क्षमतालाई अवरुद्ध गर्छन्।

अनुसन्धानमा देखिएअनुसार मेलानोमा कोषहरूले स्राव गरेका भेसिकल्स विशेषगरी CD8 “किलर” टी–कोष मा टाँसिन्छन्, जसले क्यान्सर कोष नष्ट गर्ने प्रक्रिया रोकिन्छ। कतिपय अवस्थामा ती भेसिकल्सले प्रतिरक्षा कोषहरूलाई नष्टसमेत गर्ने पाइएको छ।

मानव आनुवंशिकी तथा जैवरसायन विभागकी प्रोफेसर कार्मित लेभीको नेतृत्वमा सम्पन्न यो अध्ययनमा शेबा मेडिकल सेन्टर, वेइजमान इन्स्टिच्युट अफ साइन्स, टेक्नियोन, तेल–अभिभ सोरास्की मेडिकल सेन्टर, म्यासाचुसेट्स जनरल अस्पताल, हडासा मेडिकल सेन्टर, हिब्रु युनिभर्सिटी अफ जेरुसेलम, पेरिस–साक्ले विश्वविद्यालय र युनिभर्सिटी अफ ज्युरिखलगायत विश्वका प्रतिष्ठित संस्थाहरूको सहकार्य रहेको थियो।

प्रोफेसर लेभीका अनुसार मेलानोमा क्यान्सरले प्रतिरक्षा प्रणालीलाई छल्नका लागि अत्यन्त चालाक रणनीति अपनाएको देखिएको छ।
“क्यान्सर कोषहरूले प्रतिरक्षा कोषमाथि साना भेसिकल्स ‘प्रहार’ गर्छन्, जसले तिनको गतिविधि अवरुद्ध गर्छ वा नष्ट नै गरिदिन्छ,” उनले बताइन्।

मेलानोमा क्यान्सर छालाको बाहिरी तहबाट सुरु भई भित्री तह हुँदै रगत र लसिका प्रणालीमार्फत शरीरका अन्य भागमा फैलिने सबैभन्दा खतरनाक क्यान्सर हो। यसअघि नै मेलानोमा कोषहरूले मेलानोसोम नामक ठूला भेसिकल्समार्फत क्यान्सर फैलिन अनुकूल वातावरण बनाउने तथ्य पत्ता लागिसकेको थियो। नयाँ अध्ययनले ती भेसिकल्स प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउने कामसमेत गर्ने पुष्टि गरेको छ।

प्रोफेसर लेभीले यो खोज अत्यन्त आशाजनक भए पनि उपचारमा प्रयोग गर्न अझै थप अनुसन्धान आवश्यक रहेको बताइन्।
“यसले प्रतिरक्षा कोषलाई अझ बलियो बनाउने वा क्यान्सरका भेसिकल्सलाई प्रतिरक्षा कोषसँग टाँसिन नदिने नयाँ उपचार पद्धतिको ढोका खोलेको छ,” उनको भनाइ छ।

उक्त अध्ययनको नतिजा विश्वप्रसिद्ध वैज्ञानिक जर्नल Cell मा प्रकाशित भएको छ।

पोडकास्ट सुन्नुहोस