मलंगवा, सर्लाही –
वीरगन्जमा केही दिनअघि एक समूहले लगाएको विवादास्पद नाराको विरोधमा बुधबार मलंगवामा बजार बन्द गराउन निस्किएका हिन्दू सम्राट सेना नेपालका नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले साँझ रिहा गरेको छ।
बुधबार बिहान मलंगवा नगरपालिका वडा नं. ९ स्थित बालमन्दिर चोकबाट बजार बन्द गराउँदै हिँडेका हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण यादव र रामानन्द साहलगायतका सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। बजार बन्द गराउने क्रममा सार्वजनिक शान्ति सुरक्षामा खलल पुग्न सक्ने र सम्भावित मुठभेडलाई रोक्न उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दिनभरको छलफल र सुरक्षा अवस्थाको विश्लेषणपछि साँझ उनीहरूलाई रिहा गरिएको हो।
वीरगन्जमा केही समयअघि “हिन्दू भगाऊ, देश बचाऊ” भन्ने नारा लगाइएको भन्दै हिन्दूवादी संगठनहरू आक्रोशित बनेका छन्। सोही घटनाको विरोधमा मंगलबार दिउँसो पनि हिन्दू सम्राट सेनाले मलंगवामा वृहत् विरोध जुलुस र प्रदर्शन गरेको थियो। बुधबार बिहानैदेखि संगठनले सांकेतिक रूपमा बजार बन्दको आह्वान गरेको थियो।















