वीरगन्ज-
पर्सा प्रहरीले २२ किलो ग्राम प्रतिबन्धित लागुऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ। कठ्याङ्ग्रिने जाडोको विहानीमा कालो प्लास्टिकको ग्यालिन बोकेर पैदल हिँडिरहेका दुई व्यक्तिले प्रहरीको शंका बढाएपछि यो सफलता हात लागेको हो।
विन्दाबासिनी गाउँपालिका–२ स्थित वीरगन्ज–पोखरिया सडकखण्डको गदौर्ल चोकमा आज बिहान करिब ६ बजे पैदल हिँडिरहेका व्यक्तिहरूलाई शंकाको आधारमा रोकी जाँच गर्दा उनीहरूले बोकेको ग्यालिनभित्र ठूलो परिमाणमा चरेश फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पोखरिया तथा अस्थायी प्रहरी पोस्ट बहुअर्वाभाठ्ठाबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरियाबाट वीरगन्जतर्फ पैदल आउँदै गरेका वीरगन्ज महानगरपालिका–१५ मुर्ली निवासी रैयस अली र पोखरिया नगरपालिका–८ जगतपुर निवासी मुनिलाल पटेललाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार शंकास्पद रूपमा बोकेको ग्यालिन जाँच गर्दा २२ किलो ग्राम चरेश बरामद भएपछि दुवै जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। हाल पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय पोखरियामा राखी थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।
कठ्याङ्ग्रिदो चिसो मौसममा बिहानै कालो प्लास्टिकको ग्यालिन बोकेर पैदल हिँडिरहेको दृश्य आफैंमा शंकास्पद देखिएपछि निगरानी बढाइएको र सोही क्रममा ठूलो परिमाणमा लागुऔषध बरामद गर्न सफल भएको डीएसपी कार्कीले बताउनुभयो।















