२०८२ माघ ११ गते, आईतवार १६:३५

उम्मेदवार जिताउन काँग्रेसको क्षेत्रीय भेला

रातारात पार्टी फेर्ने उम्मेदवार रुङ्गटा होइनन्ःनेता द्विवेदी

वीरगन्ज-
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका उम्मेदवार अनिल कुमार रुङ्गटालाई विजयी गराउने उद्देश्यले नेपाली काँग्रेस पर्सा क्षेत्र नं. १ ले आज वीरगन्जमा क्षेत्रीय भेला सम्पन्न गरेको छ।

क्षेत्रीय सभापति अरविन्द गुप्ताको अध्यक्षतामा सम्पन्न भेलाले प्रतिनिधिसभा सदस्य पदका लागि काँग्रेसका उम्मेदवार रुङ्गटालाई निर्वाचित गराउन बुथस्तरदेखि नै एकजुट भई मन, वचन र कर्मले लाग्ने सहमति गरेको छ।

भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पूर्व जिल्ला सभापति अजय कुमार द्विवेदीले उम्मेदवारलाई जिताउन सम्पूर्ण पार्टी एकढिक्का भएर अघि बढ्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँले उक्त भेला पार्टीभित्र देखिएका गुट–उपगुट अन्त्य गर्दै नेता तथा कार्यकर्ताबीच एकताको सन्देश प्रवाह गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो।

नेता द्विवेदीका अनुसार नेपाली काँग्रेसका उम्मेदवार रुङ्गटा स्वच्छ छवि, इमानदार र समाजमा प्रतिष्ठित व्यक्ति भएकाले उहाँको पक्षमा सबै नेता–कार्यकर्ता एकमत छन्। उम्मेदवारको योग्यता र चरित्रबारे जानकारी दिन पार्टीका नेता–कार्यकर्ता आम मतदाताको घरदैलोमा जाने निर्णयसमेत गरिएको छ।

अन्य दलका उम्मेदवारझैँ रातारात पार्टी फेर्दै हिँड्ने व्यक्ति रुङ्गटा नभएको उल्लेख गर्दै नेता द्विवेदीले उहाँ जनताप्रति जवाफदेही, इमानदार र स्वच्छ छविका नेता भएकाले पर्सा निर्वाचन क्षेत्र नं. १ मा काँग्रेसको विजय सुनिश्चित रहेको दाबी गर्नुभयो।

काँग्रेस नेपाली राजनीतिको मूलधार भएको उल्लेख गर्दै उहाँले लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशिताको स्थापना काँग्रेसकै नेतृत्वमा भएको बताउनुभयो। विगतमा मधेसी भावनाको दुरुपयोग गर्दै निर्वाचित प्रतिनिधिहरूले जनताको शिर निहुराउने काम गरेको आरोप लगाउँदै यसपटक काँग्रेसको पक्षमा जनमत रहेको उहाँको भनाइ थियो।

क्षेत्रीय भेलामा उम्मेदवार अनिल कुमार रुङ्गटा, पार्टीका जिल्ला उप-सभापति रामनारायण कुर्मी, जिल्ला सचिव एवं वीरगन्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलम, वीरगन्ज महानगरपालिकाकी पूर्व उप–प्रमुख शान्ति कार्की, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, भेला साह कलवार, क्षेत्रीय उपसभापति अनिल सिंह, तरुण दल, नेविसंघ तथा पार्टीका बुथ सभापतिदेखि नेता–कार्यकर्तासम्मको बाक्लो उपस्थिति रहेको थियो।

पोडकास्ट सुन्नुहोस