पर्सा-
आगामी फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिएसँगै नेकपा (एमाले) पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादवले आफ्नो चुनावी सक्रियतालाई निकै तीव्र बनाउनुभएको छ। यसै क्रममा पर्सागढी नगरपालिकाका विभिन्न वडाहरूमा निर्वाचन लक्षित भेला तथा मतदाता भेटघाट कार्यक्रमहरू सम्पन्न भएका छन्।
मानवा वडा भेला: बहुमतले जिताउने स्थानीयको प्रतिबद्धता
पर्सागढी नगरपालिका वडा नम्बर–१, मानवामा आयोजित एमालेको वडा स्तरीय भेलाले उम्मेदवार रिमा यादवलाई बहुमतका साथ विजयी गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेको छ। भेलालाई सम्बोधन गर्दै उम्मेदवार यादवले अघिल्ला जनप्रतिनिधिहरूले जनअपेक्षा अनुसार काम नगर्दा यो क्षेत्र विकासमा पछि परेको दाबी गर्नुभयो।
उहाँले भन्नुभयो, “देशको समग्र विकास र समृद्धिका लागि नेकपा (एमाले) को विकल्प छैन। म महिला, बालबालिका, शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछु।” कार्यक्रममा पर्सागढीका मेयर गोकर्ण पाठक, नेतृ सिता लामा लगायतले एमालेको जितले मात्रै स्थानीय समस्याको स्थायी समाधान हुने बताउनुभएको थियो।
बढेरवामा मतदातासँग प्रत्यक्ष संवाद
त्यसैगरी, पर्सागढी–९ बढेरवामा आयोजित व्यापक मतदाता भेटघाट तथा जनसम्पर्क कार्यक्रममा उम्मेदवार यादवले स्थानीयका समस्याहरू नजिकबाट सुन्नुभएको थियो। भेटघाटका क्रममा स्थानीय बासिन्दाले सडक, खानेपानी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको अभाव रहेको गुनासो गरेका थिए।
स्थानीयको समस्या सुनेपछि उम्मेदवार यादवले भन्नुभयो, “पर्सा–२ को विकासका लागि म जुनसुकै मूल्य चुकाउन तयार छु। महिलालाई आत्मनिर्भर बनाउने र युवालाई उत्पादनशील क्षेत्रमा जोड्ने मेरो मुख्य लक्ष्य हो। तपाईंका समस्याहरू अब संसदको रोष्ट्रममा गुञ्जनेछन्।”
एमालेको एजेन्डा: सशक्तिकरण र पूर्वाधार
उम्मेदवार यादवले पूर्वाधार विकास, रोजगारी सिर्जना र किसानमुखी कृषि नीति बिना क्षेत्रको समग्र विकास सम्भव नहुने स्पष्ट पार्नुभयो। उहाँको स्पष्ट कार्ययोजना र जनतासँगको सामीप्यता देखेर स्थानीय मतदाताहरू उत्साहित देखिएका छन्।
पर्सा–२ मा एमालेले आगामी दिनमा घरदैलो र टोल भेलालाई अझ व्यापक बनाउने रणनीति लिएको छ। बढेरवाको कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको ठूलो संख्यामा उपस्थिति रहेको थियो।













