२०८२ माघ २१ गते, बुधबार २०:१४

निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन, चारै सुरक्षा निकाय मैदानमा

काठमाडौँ –

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय देशभर परिचालित भएका छन्।

सरकारले स्वीकृत गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२ कार्यान्वयनमा आएसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा फिल्डमा खटिएका हुन्। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

निर्वाचन नजिकिँदै जाँदा सम्भावित जोखिम न्यूनीकरण गर्न सुरक्षालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने रणनीतिअनुसार चारै सुरक्षा निकाय एक महिना अघिदेखि नै सक्रिय रूपमा परिचालन गरिएको जनाइएको छ।

एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि सुरक्षामा खटिनेछन्। मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन् भने दोस्रो घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ। सशस्त्र प्रहरीले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्दै सुरक्षा व्यवस्थापन गर्नेछ।

नेपाली सेना भने तेस्रो तथा बाहिरी सुरक्षा घेरामा रही महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नेछ। सेनाले आजदेखि नै १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नो उपस्थिति जनाउने जनाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका थिए।

सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार आवश्यकता अनुसार सेनाका वेस स्थापना, संयुक्त गस्ती र संवेदनशील क्षेत्रमा विशेष निगरानी गरिनेछ। निर्वाचनका लागि करिब ८० हजार सैनिक जनशक्ति परिचालन गर्ने तयारी गरिएको छ।

निर्वाचन सुरक्षामा सेनाले तीन चरणमा जिम्मेवारी निर्वाह गर्नेछ। निर्वाचनपूर्व मतपत्र छपाइ र ढुवानी, मतदानका दिन मतदानस्थल तथा केन्द्रको सुरक्षा, र निर्वाचनपछिको मतपेटिका ढुवानी तथा मतगणनास्थलको सुरक्षा सेनाको मुख्य कार्यक्षेत्र रहनेछ।

यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको सहकार्यमा विमानस्थल, कारागार तथा अन्य संवेदनशील संरचनाको सुरक्षा पनि नेपाली सेनाले गर्नेछ।

आसन्न निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले माघ ४ गतेदेखि आचारसंहिता लागू गरिसकेको छ। यसपटक निर्वाचनमा कूल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता सहभागी हुनेछन्, जसमा महिला ९२ लाख ४० हजार १३१, पुरुष ९६ लाख ६३ हजार ३५८ र अन्य २०० जना रहेका छन्।

देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्। नेपाल प्रहरीतर्फबाट ७७ हजार जनशक्ति परिचालन हुनेछ भने प्रहरी अभाव पूर्ति गर्न १ लाख ३३ हजार निर्वाचन प्रहरी भर्ना गरिएको छ।

सुरक्षा जोखिमका आधारमा २ हजार ८४५ मतदानस्थल सामान्य, ४ हजार ४४२ संवेदनशील र ३ हजार ६८० अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ। सोहीअनुसार सुरक्षा रणनीति लागू गरिएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपालबाट ३४ हजार ५७६ जना र १५ हजार ११० निर्वाचन प्रहरी गरी कूल ४९ हजार ६८६ जनशक्ति परिचालन हुनेछन्। कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको र आवश्यक परे १० मिनेटभित्र घटनास्थलमा पुग्ने व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ।

पोडकास्ट सुन्नुहोस