२०८२ माघ २५ गते, आईतवार १९:०६

पर्सा-१ मा हरि पन्तको घरदैलो: पिपरा, भेडिहाइ र सोलखपुरका मतदाताले भने– ‘अबको आशा रास्वपा’

वीरगन्ज-

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तले आफ्नो चुनावी अभियानलाई तीव्रता दिनुभएको छ। अभियानकै क्रममा उहाँले आज पिपरा, लालपर्सा, भेडिहाइ र सोलखपुरका मतदाताहरूसँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।

भेटघाटका क्रममा स्थानीय मतदाताहरूले उम्मेदवार पन्तलाई ठाउँ-ठाउँमा टीका, माला र खादा ओढाएर भव्य स्वागत गरेका थिए। सो अवसरमा मतदाताहरूले पुरानो राजनीतिक परिपाटीबाट आफूहरू आजित भएको उल्लेख गर्दै मुलुकको अबको आशाको दियो नै रास्वपा भएको बताए।

“अहिलेसम्म धेरैलाई हेर्यौँ, तर जनताको अवस्था फेरिएन। यसपालि पर्सा क्षेत्र नं. १ बाट घण्टीलाई जिताएर पठाउने हाम्रो अठोट छ,” स्थानीय एक मतदाताले भने।

घरदैलोका क्रममा मतदाताहरूले उम्मेदवार पन्तलाई आफ्ना क्षेत्रका विभिन्न समस्या र गुनासोहरू समेत सुनाएका थिए। नागरिकका गुनासो सुनेपछि उम्मेदवार पन्तले आफू जनताकै सेवाका लागि राजनीतिमा आएको बताउँदै यस क्षेत्रको विकास र सुशासनका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय युवा, महिला र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। मतदाताको उत्साहजनक साथले पर्सा १ मा रास्वपाको पकड बलियो देखिएको रास्वपा निकट स्रोतले दाबी गरेको छ।

पोडकास्ट सुन्नुहोस