पर्सा-
आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल खेलिरहेको नेपालले इंग्ल्यान्डविरुद्ध जितका लागि १८५ रनको बलियो लक्ष्य पाएको छ।
वाङ्खडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन जोड्यो। इंग्ल्यान्डको इनिङ्समा ज्याकब बेथेल र कप्तान ह्यारी ब्रूक अर्धशतकसहित चम्किए।
बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए भने ब्रूकले ३२ बलमा चार चौका र तीन छक्कासहित ५३ रन जोडे। अन्तिमतिर विल ज्याक्सले १८ बलमा एक चौका र चार छक्कासहित अविजित ३९ रन प्रहार गर्दै इंग्ल्यान्डलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्याए।
नेपालले भने खेलको सुरुआतमै सफलतासहित दबाब सिर्जना गरेको थियो। ओपनर फिल साल्टलाई डेब्युटान्ट शेर मल्लले आफ्नो पहिलो बलमै आउट गरेपछि इंग्ल्यान्ड सुरुमै झस्किएको थियो। त्यसपछि ५७/३ को अवस्थाबाट बेथेल र ब्रूकले चौथो विकेटका लागि महत्त्वपूर्ण ७१ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले।
बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान दुई–दुई विकेट लिए। शेर मल्ल र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे।
टी–२० विश्वकपबाटै सिनियर राष्ट्रिय टोलीमा डेब्यू गरेका शेर मल्लसँगै आरिफ शेख, लोकेश बम र नन्दन यादवले पनि विश्वकपमा पहिलो पटक अवसर पाए। यसअघि दुई विश्वकप खेलिसकेका सोमपाल कामी भने इंग्ल्यान्डविरुद्धको खेलमा बेन्चमै सीमित रहे।
अब नेपालले विश्वकपमा सुखद सुरुआतका लागि १८५ रनको कठिन लक्ष्य पछ्याउनुपर्नेछ।













