२०८२ माघ २५ गते, आईतवार २१:३४

पसुरामपुर र भेडाहामा रिमाको घरदैलो: मतदाताका आँसु पुछ्ने र अवस्था बदल्ने संकल्प

पर्सा-

चुनावी सरगर्मी बढ्दै जाँदा पर्सा क्षेत्र नं. २ मा नेकपा (एमाले) की कान्छी उम्मेदवार रिमा कुमारी यादवले आफ्नो घरदैलो अभियानलाई मतदाताको भावनासँग जोड्न थाल्नुभएको छ। अभियानकै क्रममा आइतबार पर्सागढी नगरपालिका वडा नं. ४ को पसुरामपुर र भेडाहा टोलमा पुग्नुभएकी यादवलाई स्थानीयले न्यानो स्वागत मात्र गरेनन्, वर्षौँदेखिका आफ्ना गुम्सिएका पीडा र सपनाहरू पनि सुनाए।

जनताका आँसु र विकासको आशा घर–घर पुग्ने क्रममा स्थानीय बासिन्दाहरूले धूलाम्य सडक, सिँचाइको अभावमा सुक्दै गरेका खेतबारी र नजिकै सुविधासम्पन्न अस्पताल नहुँदा भोग्नुपरेको सास्ती उम्मेदवार यादवलाई सुनाएका थिए। मतदाताका गुनासो सुन्दै गर्दा केही भावुक देखिनुभएकी यादवले भन्नुभयो, “म यहाँ केवल मत माग्न मात्र आएकी होइन, तपाईंहरूको घरको एउटा सदस्य बनेर यी समस्या समाधानको जिम्मेवारी लिन आएकी हुँ। तपाईंहरूले भोग्नुभएको अभाव अब मेरो कार्यकालमा अन्त्य हुनेछ।”

समृद्धिको स्पष्ट खाका युवा जोश र नीतिगत स्पष्टता बोक्नुभएकी यादवले आफ्नो सम्बोधनका क्रममा स्थानीय विकास, रोजगारी सिर्जना, र कृषि क्षेत्रको आधुनिकीकरणलाई मुख्य प्राथमिकतामा राख्नुभएको छ। “हाम्रा युवाहरू खाडीमा पसिना बगाउन बाध्य छन्, हाम्रा किसानहरूले समयमा मल पाउँदैनन्,” उहाँले थप्नुभयो, “यो अवस्था बदल्नका लागि फागुन २१ गते सूर्य चिह्नमा मतदान गरी मलाई सेवा गर्ने मौका दिनुहोस्। तपाईंको एक मतले पर्सागढीको भविष्य बदल्नेछ।”

उत्साहजनक जनलहर पर्सागढीका परसुरामपुर र भेडाहामा भएको घरदैलोमा महिला र युवाहरूको उपस्थिति निकै बाक्लो थियो। स्थानीयले एक शिक्षित र भिजन भएको महिला उम्मेदवार पाएकोमा खुसी व्यक्त गर्दै अबको परिवर्तनका लागि एमाले नै विकल्प भएको बताएका थिए।

कार्यक्रममा एमालेका स्थानीय नेता-कार्यकर्ता, महिला समूह र युवाहरूको सक्रिय सहभागिता थियो। अभियानले टोल-टोलमा एमालेको पक्षमा बलियो माहोल सिर्जना गरेको स्थानीय कार्यकर्ताहरूले दाबी गरेका छन्।

पोडकास्ट सुन्नुहोस