२०८२ माघ २७ गते, मंगलवार १७:३१

रामेछाप बस दुर्घटना : मृतक संख्या १२ पुग्यो, नदीमा खोजी अझै जारी

काभ्रे-

रामेछापस्थित तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार घटनास्थल र उपचारका क्रममा गरी कुल १२ जनाको मृत्यु भएको पुष्टि भएको हो।

दुर्घटनास्थलमा खोजी गर्ने क्रममा थप ६ वटा शव फेला परेपछि मृतक संख्या बढेको उनले जानकारी दिए। सीडीओ थापाका अनुसार ६ जनाको अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो भने ६ जनाको शव घटनास्थलमै भेटिएको हो।

दुर्घटनामा घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ। काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस आज बिहान रामेछापको मचानेटार क्षेत्रबाट तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।

सडकबाट खसेपछि बस नदीमै डुबेको थियो। अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए। बाटोमा थप यात्रु चढे–नचढेको भने अझै खुल्न सकेको छैन।

यसैबीच, सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीमा खोजी कार्य जारी राखेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पोडकास्ट सुन्नुहोस