२०८२ माघ २७ गते, मंगलवार १७:२६

लक्ष्मणवामा जसपा उम्मेदवार यादवको भव्य घरदैलो

मधेसी अधिकारका लागि लड्ने पार्टीलाई मत दिने मतदाताको आश्वासन

वीरगन्ज-

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पर्सा क्षेत्र नं. १ का उम्मेदवार रामनरेश यादवले आफ्नो चुनाव प्रचारलाई तीव्र बनाउँदै नागरिकको घरआँगनमै पुगेर छाता चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।

वीरगन्ज महानगरपालिका–१५ लक्ष्मणवामा मंगलबार बिहान आयोजित घरदैलो कार्यक्रममा उनले मधेस आन्दोलनको नेतृत्व गर्दै मधेसी समुदायलाई पहिचान दिलाउने जसपाको भूमिकाबारे उल्लेख गर्दै पार्टीको चुनाव चिन्हमा मत दिन मतदातासँग अनुरोध गरे।

घरदैलोका क्रममा विशेषगरी महिला मतदाताले उम्मेदवार यादवसँग कडा प्रश्न गरेका थिए। अघिल्ला निर्वाचनमा जितेपछि मधेसका मुद्दा छाडेर अन्य दलमा जाने हो कि भन्ने आशंका व्यक्त गर्दै उनीहरूले लक्ष्मणवामा पर्याप्त विकास नभएको गुनासो समेत गरे। साथै, पूर्वाधार विकासमा अपेक्षित काम नभएको विषय पनि मतदाताले उठाएका थिए।

घरदैलो कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार यादवले लक्ष्मणवाका मतदाताबाट राम्रो स्वागत र आगामी प्रतिनिधिसभा निर्वाचनमा समर्थनको आश्वासन प्राप्त भएको बताए। उनले विगतका जनप्रतिनिधिप्रति केही गुनासा भए पनि जसपाले सधैँ मधेसी जनताको अधिकारका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै यस पटक पनि पार्टीलाई समर्थन मिल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा जसपाका महासचिव तथा मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गद्दी, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य रमेश प्रसाद कुर्मी, करिमा बेगम, रेखा साह, वलिराम यादव, सुरेन्द्र कुर्मी, शशिकपुर मियाँ, वीरगन्ज महानगर अध्यक्ष धनश्यामबाबु गुप्ता, क्षेत्रीय अध्यक्ष सुन्दर साह कानु, रितेश गुप्ता लगायत नेता–कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।

पोडकास्ट सुन्नुहोस