वीरगन्ज-
प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेस का उम्मेदवार अनिल कुमार रुङ्गटा क्रमशः बलियो बन्दै गएका छन्। विगतमा आन्तरिक घात–अन्तरघातका कारण लामो समयदेखि यो क्षेत्र गुमाउँदै आएको कांग्रेसका नेता–कार्यकर्ता यसपटक उम्मेदवार रुङ्गटालाई जिताउन एकजुट भएर लागेका छन्।
पर्सा क्षेत्र नं. १ मा चुनाव प्रचारदेखि संगठनका बैठकसम्म कांग्रेसका बूथस्तरका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता देखिएको छ। उम्मेदवारको पक्षमा जनसमर्थन जुटाउन आयोजना गरिने कार्यक्रममा समेत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहने गरेको छ।
कांग्रेसको महत्वपूर्ण शक्तिका रूपमा चिनिने युवा नेता–कार्यकर्ताको सक्रियताले यसपटक रुङ्गटा प्रतिनिधि सभाका सबै भन्दा बलिया उम्मेदवारका रूपमा उभिएको आकलन गरिएको छ।
यसै क्रममा वीरगन्ज महानगरपालिका वडा नं. १५ पिपराका नवयुवाहरूले कांग्रेस उम्मेदवार रुङ्गटालाई समर्थन जनाएका छन्। शनिबार पिपरा पुगेका रुङ्गटासँग भेट गर्दै युवाहरूको समूहले उनलाई चुनाव जिताउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन । पिपरामा आयोजित युवा भेलामा सहभागी युवाहरूले रुङ्गटालाई “अन्तिम आशाका उम्मेदवार” का रूपमा समर्थन जनाएका छन्।
रुङ्गटा निर्वाचित भएपछि खेलकुद विकास, युवाका लागि रोजगारी सिर्जना तथा गुणस्तरीय शिक्षा उपलब्ध गराउने विश्वासका साथ समर्थन गरेको युवाहरूले बताएका छन्। मुलुकमा बढ्दै गएको भ्रष्टाचार अन्त्य गर्दै शासन प्रणालीमा पारदर्शिता ल्याउन कांग्रेस सक्षम हुने विश्वासका आधारमा आफूहरू उम्मेदवार रुङ्गटाको पक्षमा उभिएको उनीहरूको भनाइ छ।
पर्सा निर्वाचन क्षेत्र नं. १ मा अन्य उम्मेदवारको तुलनामा रुङ्गटा स्वच्छ छवि भएका, शिक्षित र इमान्दार व्यक्ति भएकाले उनलाई नै जिताउन लागिएको युवाहरूको धारणा रहेको छ।














