वीरगन्ज-
आगामी निर्वाचनको चहलपहल बढ्दै जाँदा पर्सा निर्वाचन क्षेत्र नं. २ मा नेपाल जनता पार्टीले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको छ। सोही क्रममा शनिबार वीरगन्ज महानगरपालिका वडा नं. २६ सुगौलीमा पार्टीले व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। “एक भोट राष्ट्रका लागि” भन्ने मूल नाराका साथ गाउँ छिरेका नेता तथा कार्यकर्ताहरूले राष्ट्रिय एकता र सनातन हिन्दू राष्ट्रको पुन:स्थापनालाई मुख्य मुद्दा बनाएका छन्।
घरदैलोका क्रममा उम्मेदवार तथा पार्टीका प्रतिनिधिहरूले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै “हर हर कमल, घर घर कमल” को अभियानलाई गाउँ-गाउँ पुर्याउन आह्वान गरे। उनीहरूले मुलुकमा रामराज्यको स्थापना, भ्रष्टाचार मुक्त समाज र सुशासन कायम गर्नका लागि यसपटक परिवर्तन आवश्यक रहेको र त्यसका लागि कमल छापमा मतदान गर्न आग्रह गरे।
पार्टीले यस क्षेत्रको समृद्धिका लागि मेडिकल कलेजको स्थापना, अत्याधुनिक क्रिकेट स्टेडियमको निर्माण र धार्मिक पर्यटन प्रवर्द्धनका लागि रामायण सर्किट निर्माण गर्ने योजना अघि सारेको छ। घरदैलोमा सहभागी नेताहरूले युवा, महिला र विद्यार्थीहरूलाई उच्च सम्मान दिँदै उनीहरूको वृत्तिविकासका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन्।
त्यसैगरी, किसानहरूलाई उच्च प्राथमिकतामा राख्दै कृषि क्षेत्रको आधुनिकिकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य र भरपर्दो सुरक्षाको प्रत्याभूति दिने दाबी पार्टीले गरेको छ। देशको स्वाभिमान रक्षा र आर्थिक विकासका लागि नेपाल जनता पार्टी नै निर्विकल्प शक्ति भएको बताउँदै उम्मेदवारहरूले सुगौलीवासीको साथ, सहयोग र आशीर्वादको अपेक्षा गरेका छन्। घरदैलो कार्यक्रममा स्थानीय युवा तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।














