वीरगन्ज-
निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर–२ मा नेकपा एमालेको पक्षमा एक प्रकारको भावनात्मक लहर देखिएको छ। शनिबार वीरगन्ज महानगरपालिका–१७ अलौमा आयोजित घरदैलो कार्यक्रम केवल राजनीतिक अभियान मात्र रहेन, यो उम्मेदवार र जनताबीचको आत्मीय मिलनको उत्सव जस्तै बन्यो।
घरदैलोका क्रममा टोल-टोलमा पुगेकी उम्मेदवार रिमा कुमारी यादवलाई अलौका स्थानीय आमा-दिदीबहिनी र वृद्धवृद्धाहरूले “लक्ष्मीको स्वरूप” भन्दै खुलेर समर्थन जनाए। मतदाताहरूले उनलाई फूलमाला र अबिरले मात्र सजाएनन्, जितको अग्रिम शुभकामना स्वरूप दही र मिठाई (सगुन) खुवाएर सम्मान प्रकट गरे। यो दृश्यले अलौमा एमाले र रिमा यादवप्रति जनताको कति गहिरो भरोसा छ भन्ने प्रष्ट पारेको थियो।
अरु नेताहरू भाषणमा व्यस्त भइरहँदा यादवले भने स्थानीयका समस्या र गुनासाहरूलाई निकै ध्यानपूर्वक सुनिन्। उनले भनिन्, “म भाषणमा होइन, काममा विश्वास गर्छु। तपाईँहरूले दिनुभएको यो विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो।” उनले महिलाको आवाजलाई सदनसम्म पुर्याउन र शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारीमा ठोस परिवर्तन ल्याउन फागुन २१ गते ‘सूर्य’ चिह्नमा मतदान गर्न आग्रह गरिन्।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, वडा नम्बर १७ का वडा अध्यक्ष संजु छत्कुली लगायतका नेताहरूको उपस्थिति थियो। घरदैलोलाई थप उर्जावान् बनाउन युवा नेताहरू मुकेश द्विवेदी, अजय साह, पिन्टु उपाध्याय, अमल यादव, प्रधुमन यादव र विकी सिंहसहित ठूलो संख्यामा समर्थकहरू स्वतस्फूर्त रूपमा सडकमा ओर्लिएका थिए।
अलौको यो भव्य उपस्थितिले रिमा यादवको विजय यात्रालाई थप सहज बनाएको विश्लेषण गरिएको छ। घरदैलोका क्रममा देखिएको जनलहरले एमालेको ‘गढ’ झन् मजबुत भएको संकेत दिएको छ।













