वीरगन्ज-
वीरगन्ज महानगरपालिकालाई फोहोरमुक्त र हरित सहर बनाउने अभियान अन्तर्गत वडा नम्बर १६ स्थित फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) परिसरमा निर्माणाधीन प्लास्टिकजन्य फोहोर प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।
महानगर क्षेत्रबाट संकलन हुने प्लास्टिकजन्य फोहोरलाई वैज्ञानिक तरिकाले प्रशोधन गरी पुनः प्रयोगमा ल्याउने उद्देश्यका साथ यो परियोजना अगाडि बढाइएको हो ।
महानगरपालिकाको वन तथा वातावरण शाखाका प्रमुख ई. राकेश साहका अनुसार सूर्य नेपाल प्रा.लि.को करिब चार करोड रुपैयाँको लगानीमा उक्त प्लान्ट निर्माण भइरहेको छ । “निर्माण कार्य करिब सम्पन्न हुने चरणमा छ, हामी छिट्टै यसलाई सञ्चालनमा ल्याउने तयारीमा छौँ,” साहले बताए ।
प्रशोधन क्षमता र कार्यविधि हाल निर्माण भइरहेको यस प्लान्टको क्षमता दैनिक करिब २० मेट्रिक टन प्लास्टिकजन्य फोहोर प्रशोधन गर्ने रहेको छ । वीरगन्ज महानगरमा दैनिक संकलन हुने ६० देखि ६५ टन फोहोरमध्ये प्लास्टिकजन्य फोहोरलाई छुट्ट्याएर यस प्लान्टमार्फत प्रशोधन गरिनेछ । गत असोजमा वीरगन्ज महानगरपालिका, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्य नेपाल प्रा.लि. बीच भएको त्रिपक्षीय सम्झौता बमोजिम यो कार्य अघि बढेको हो ।
स्थलगत निरीक्षण र अनुगमन बुधबार महानगर प्रमुख राजेशमान सिंह, सूर्य नेपाल प्रा.लि.का उद्योग प्रमुख सुरेश काजी महर्जन लगायतको टोलीले निर्माण स्थलको निरीक्षण गरेको छ । टोलीले प्लान्टको प्राविधिक पक्ष, निर्माणको प्रगति र आगामी सञ्चालन प्रक्रियाबारे विस्तृत जानकारी लिएको थियो ।
निरीक्षणका क्रममा मेयर सिंहले भने, “हामी फोहोरलाई समस्याको रूपमा मात्र होइन, स्रोतका रूपमा उपयोग गर्ने अवधारणामा अघि बढिरहेका छौँ । यो प्लान्ट सञ्चालनमा आएपछि प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा नयाँ युगको सुरुवात हुनेछ ।”
जिम्मेवारी बाँडफाँट र दिगोपन निर्माण सम्पन्न भएपछि सूर्य नेपालले यो प्लान्ट महानगरपालिकालाई हस्तान्तरण गर्नेछ । यसको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी महानगरले सम्हाल्नेछ भने प्राविधिक जनशक्तिको व्यवस्थापन जिरो वेस्ट इनिसिएटिभ नेपालले गर्ने सहमति भएको छ ।
सूर्य नेपालका उद्योग प्रमुख महर्जनले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत यो परियोजनामा लगानी गरिएको स्पष्ट पारे ।
यो प्लान्ट सञ्चालनमा आएपछि वीरगन्जको डम्पिङ साइटमा फोहोरको चाप घट्ने र प्लास्टिकबाट पुनः प्रयोगयोग्य सामग्री उत्पादन भई वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ ।













