वीरगन्ज-
जिल्ला प्रशासन कार्यालय पर्साले पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको बजारमा कुनै अभाव नरहेको स्पष्ट पार्दै कृत्रिम अभाव सिर्जना नगर्न सरोकारवालाहरूलाई कडा चेतावनी दिएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालयमा निमित्त प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले आपूर्ति र वितरण प्रणालीलाई थप नियमित एवं व्यवस्थित बनाउने निर्णय गरेको हो । बैठकमा सहभागी नेपाल आयल निगम, ग्यास उद्योग, डिलर तथा सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिहरूले जिल्लामा हाल डिजेल, पेट्रोल र ग्यासको मौज्दात पर्याप्त रहेको र आयातसमेत नियमित भइरहेकाले उपभोक्ता आत्तिनुपर्ने अवस्था नरहेको जानकारी दिएका थिए ।
प्रशासनले पेट्रोलियम पदार्थको असुरक्षित र अनधिकृत बिक्री वितरण रोक्न खुद्रा विक्रेताहरूलाई खुला रूपमा बोतल, ग्यालेन, ड्रम वा जेरीक्यानमा पेट्रोल र डिजेल बिक्री नगर्न कडा निर्देशन दिएको छ । बजारमा इन्धनको अभाव हुने कुनै सम्भावना नरहेको भन्दै प्रशासनले उपभोक्ताहरूलाई अनावश्यक रूपमा घरमा भण्डारण नगर्न र कृत्रिम अभावको हल्लाको पछि नलाग्नसमेत आग्रह गरेको छ ।
वितरण प्रक्रियालाई थप पारदर्शी र जिम्मेवार बनाउन अबदेखि ग्यास डिलरहरूले दैनिक रूपमा बिक्री गरेको उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको पूर्ण विवरण सम्बन्धित ग्यास उद्योगमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी, ग्यास उद्योगहरूले डिलरबाट प्राप्त भएको सो विवरण सिलिन्डरको परिमाणसहित जिल्ला प्रशासन कार्यालय पर्सा, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज र नेपाल आयल निगमको शाखा कार्यालयलाई दैनिक रूपमा इमेलमार्फत अनिवार्य उपलब्ध गराउनुपर्ने निर्णय भएको छ । यो कडाइले बजारमा हुनसक्ने कालोबजारी र कृत्रिम अभावको अवस्थालाई पूर्ण रूपमा नियन्त्रण गर्ने विश्वास प्रशासनले लिएको छ ।
उपभोक्तालाई आपूर्ति र वितरणमा कुनै पनि समस्या वा गुनासो भए तत्काल प्रशासनमा जानकारी गराउन आह्वान गर्दै प्रशासनले नियम विपरीत कार्य गर्ने जो कोहीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।













