मास्को –
युक्रेनले रुसको ऊर्जा पूर्वाधारमाथि आक्रमण तीव्र पारेको छ, जबकि उच्च कच्चा तेलको मूल्य र केही प्रतिबन्ध खुकुलो हुँदा मस्कोलाई निर्यातबाट ठूलो लाभ भइरहेको छ।
पछिल्लो एक हप्तामा युक्रेनी ड्रोनहरूले रुसका विभिन्न रिफाइनरी र निर्यात टर्मिनलहरूमा आक्रमण गरेका छन्। यो अभियान गत गर्मीयामदेखि सुरु भएको थियो, जसको उद्देश्य रुसको प्रमुख आम्दानी स्रोतलाई कमजोर बनाउनु हो।
मध्यपूर्वको युद्ध र कच्चा तेलको मूल्यवृद्धिले क्रेमलिनलाई फाइदा पुर्याइरहेका बेला कीभले रुसको ऊर्जा उत्पादनमा असर पार्न आफ्नो प्रयास दोब्बर बनाएको छ।
युक्रेनी सेनाका अनुसार, यस महिनामात्रै रुसको ऊर्जा संरचनामाथि १० वटा ठूला आक्रमण गरिएको छ, जसमा केही आक्रमण रुसभित्र गहिरोसम्म पुगेका छन्। यसको प्रभाव कति परेको छ भन्ने स्पष्ट नभए पनि रुसले पेट्रोल निर्यातमा प्रतिबन्ध लगाउने सम्भावनाबारे छलफल गरिरहेको छ।
शनिबार पत्रकारहरूसँग कुरा गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लामो दूरीका ड्रोनहरू अझ प्रभावकारी बन्दै गएको बताएका छन्।
हालैको आक्रमण अन्तर्गत शनिबार बिहान मस्कोको उत्तर–पूर्वमा रहेको यारोस्लाभलस्थित ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन प्रहार भएको दाबी गरिएको छ। आक्रमणपछि आगलागी भएको युक्रेनी पक्षले जनाएको छ।
यारोस्लाभलका क्षेत्रीय गभर्नर मिखाइल एभ्राएभले केही आवासीय भवन र व्यावसायिक संरचनामा क्षति पुगेको स्वीकार गरे पनि ३० भन्दा बढी ड्रोन नष्ट गरिएको बताएका छन्।
बाल्टिक सागर किनारमा रहेको उस्त–लुगा बन्दरगाह पनि पछिल्लो हप्तामा दुई पटक आक्रमणको निशाना बनेको छ। युक्रेनी सुरक्षा सेवाका अनुसार, ड्रोन हमलाले तेल लोड गर्ने संरचना र भण्डारण ट्याङ्कमा क्षति पुर्याएको छ।
आक्रमणपछि सेन्ट पिटर्सबर्ग नजिकका क्षेत्रमा वायु प्रदूषणको चेतावनीसमेत जारी गरिएको थियो।
जेलेन्स्कीले उस्त–लुगा केन्द्रको क्षमतामा ठूलो गिरावट आएको दाबी गर्दै ड्रोन आक्रमणपछि करिब ४० प्रतिशत मात्रै क्षमता बाँकी रहेको बताएका छन्।
गत साता प्रिमोर्स्क बन्दरगाहमा पनि आक्रमण भएको थियो भने सारातोभस्थित रोसनेफ्टद्वारा सञ्चालित रिफाइनरीमा समेत क्षति पुगेको छ।
यसअघि मध्यपूर्व संकट सुरु हुनुअघि रुसको कच्चा तेल अन्तर्राष्ट्रिय बजारमा सस्तोमा कारोबार हुन्थ्यो। तर अहिले विश्लेषकहरूका अनुसार केही अवस्थामा प्रिमियम मूल्यसमेत पाइरहेको छ। साथै, अमेरिकी प्रतिबन्ध केही हदसम्म खुकुलो बनाइएकाले पनि रुसलाई फाइदा पुगेको छ।
युक्रेनले भने प्रतिबन्ध खुकुलो बनाइएको विषयमा आलोचना गर्दै रुसले इरानलाई स्याटेलाइट सूचना उपलब्ध गराएर आक्रमणमा सहयोग गरिरहेको आरोप लगाएको छ।
विश्लेषकहरूका अनुसार रुसको सरकारी बजेटको कम्तीमा एकतिहाइ आम्दानी तेलबाट आउने गर्छ, र पछिल्लो महिनामा त्यो आम्दानी दोब्बर हुन सक्ने अनुमान गरिएको छ।
युक्रेनको निरन्तर आक्रमणबीच रुसले पुनः पेट्रोल निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ। उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकसहित सरकारी निकाय र तेल कम्पनीहरूबीच यसबारे छलफल भइरहेको बताइएको छ।
यसअघि सेप्टेम्बरमा लगाइएको प्रतिबन्ध जनवरीमा हटाइएको थियो। तर आन्तरिक बजारमा असर परेपछि पुनः लागू गर्न लागिएको रूसी सञ्चारमाध्यमहरूले जनाएका छन्।
जेलेन्स्कीले भने युक्रेनमाथि भइरहेको रूसी आक्रमणको जवाफस्वरूप यस्ता हमला गरिएको स्पष्ट पार्दै रुसले युक्रेनको ऊर्जा पूर्वाधारमाथि आक्रमण रोकेमा आफूहरूले पनि प्रतिकार नगर्ने बताएका छन्।(सि.एन.एन)














