२०८२ चैत्र १५ गते, आईतवार १२:४३

पुर्व गृहमन्त्री रमेश लेखकलाई आदालतमा उपस्थित गराइयो, ओलीलाई ल्याउने तयारी

काठमाडौं-

जेनजी आन्दोलन दमन प्रकरणले नेपाली राजनीति तताइरहेका बेला पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। शनिबार सार्वजनिक बिदा परेकाले पक्राउपछि उनलाई आज मात्रै अदालतमा पेश गरिएको हो।

यसै प्रकरणमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि आजै अदालत उपस्थित गराउने तयारी गरिएको छ। उच्च तहका नेताहरू एकै मुद्दामा अदालतको घेरामा आउँदा राजनीतिक वृत्तमा तरंग पैदा भएको छ।

गत भदौ २३–२४ मा जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बन्दा देश नै अशान्त बनेको थियो। घटनामा तीन प्रहरीसहित ७६ जनाको ज्यान गएको थियो भने दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए। सिंहदरबारदेखि संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, व्यापारिक केन्द्र र निजी घरसम्म आगजनी, तोडफोड र लुटपाटले राजधानी थर्किएको थियो।

उक्त घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो। सोही प्रतिवेदनलाई कार्यान्वयन गर्ने निर्णय प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले पहिलो मन्त्रिपरिषद् बैठकमै गरेको थियो।

त्यसपछि चैत १४ गते बिहानै प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखकलाई कटुन्जेस्थित घरबाट नियन्त्रणमा लिएको थियो।

हाल ओली स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् भने लेखकलाई महाराजगञ्जस्थित प्रहरी हिरासतमा राखिएको छ।

देशको शीर्ष नेतृत्व नै कानुनी कठघरामा उभिँदा अब यो प्रकरणले कस्तो राजनीतिक मोड लिन्छ भन्ने चासो र बहस चुलिँदै गएको छ।

पोडकास्ट सुन्नुहोस