काठमाडौँ –
विद्यार्थी र अभिभावकमाथि बढ्दो आर्थिक बोझ तथा अस्वस्थ प्रतिस्पर्धालाई लक्षित गर्दै सरकारले ठूला शैक्षिक संस्थाहरूमा सञ्चालन हुँदै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्समाथि कडाइ गर्ने निर्णय गरेको छ। अब आगामी वैशाख १ गतेदेखि यस्ता कार्यक्रमहरू देशभर पूर्ण रूपमा बन्द हुने भएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्णयअनुसार विद्यालय तथा उच्च शिक्षामा भर्ना प्रक्रिया सुरु हुनुअघि नै विद्यार्थीलाई लक्षित गर्दै सञ्चालन गरिने यस्ता कक्षाहरूले शिक्षा प्रणालीमा असमानता बढाएको निष्कर्ष निकालिएको छ।
मन्त्रालयका अनुसार ब्रिज कोर्स र तयारी कक्षाले विद्यार्थीको मनोविज्ञानमा दबाब सिर्जना गर्नुका साथै आर्थिक रूपमा कमजोर परिवारका लागि थप बोझ बनेका छन्। “शिक्षामा समान पहुँच सुनिश्चित गर्न यस्ता कार्यक्रम आवश्यक छैनन्,” मन्त्रालयको धारणा छ।
मन्त्रालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा चैत १३ गते नै मन्त्रीस्तरबाट निर्णय भइसकेको र अब त्यसलाई कार्यान्वयनमा लैजाने चरण सुरु भएको उल्लेख गरिएको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार सम्बन्धित सबै निकायलाई तत्काल निर्देशन दिइसकिएको छ।
निर्णय कार्यान्वयन सुनिश्चित गर्न स्थानीय प्रशासनलाई समेत सक्रिय बनाइएको छ। जिल्ला प्रशासन कार्यालयहरूलाई अनुगमन कडाइ गर्न निर्देशन दिइएको छ भने निर्णयविपरीत कार्यक्रम सञ्चालन गर्ने संस्थामाथि कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ।
सरकारको यो कदमले शिक्षा क्षेत्रमा वर्षौँदेखि चल्दै आएको ‘अघिल्लो तयारी, पछि भर्ना’ संस्कृतिलाई अन्त्य गर्ने संकेत दिएको छ। अब हेर्न बाँकी छ,यो निर्णय व्यवहारमा कत्तिको प्रभावकारी रूपमा लागू हुन्छ।













