वीरगन्ज-
श्रीमतीको खुट्टा काटेर फरार रहेका श्रीमानलाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
पर्साको पर्सागढी नगरपालिका–३ विरुवा टोल निवासी हरिकला देवी सहनीको खुट्टा काटी फरार भएका उनका श्रीमान विश्वनाथ सहनीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। गत चैत १४ गते बिहान श्रीमतीको बायाँ खुट्टाको पैतालाभन्दा माथिको भाग काटेर फरार रहेका सहनीलाई हिजो (शनिबार) निजकै घर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरीक्षक पाठकले श्रीमतीको खुट्टा काटी फरार रहेका सहनी घर वरिपरि नै लुकेको सूचनाका आधारमा पक्राउ गरिएको बताए।
पक्राउ परेका सहनीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी ज्यान मार्ने उद्योग तथा कुटपिट गरी अंगभंग गरेको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार श्रीमानको अमानवीय कार्यबाट गम्भीर घाइते भई अस्पतालमा उपचाररत हरिकला देवी सहनीको उपचारका लागि ५० हजार १ सय ५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ। जिल्ला प्रहरी कार्यालयअन्तर्गत रहेको लैंगिक हिंसा नियन्त्रण सञ्जालको राहत कोषबाट उक्त रकम उपलब्ध गराई आजै पीडितका आमाबुवालाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ। त्यसै गरी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता तथा सूचना अधिकारी हरि बहादुर बस्नेतले घाईतेको उपचारको लागी आफनो तर्फ बाट पाँचहजार नगद सहयोग गर्नु भएको थियो ।













