वीरगन्ज-
वीरगन्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुन लागेको ‘वीरगन्ज प्रिमियर लिग’ को तेस्रो संस्करण (बीपीएल–३) को भव्य ट्रफी सार्वजनिक गरिएको छ। आइतबार वीरगन्जको ऐतिहासिक माईस्थानस्थित गहवामाई मन्दिर अगाडि आयोजित एक विशेष कार्यक्रमका बीच प्रतियोगिताको ट्रफी अनावरण गरिएको हो।
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद) हरि पन्तले प्रमुख अतिथिका रूपमा ट्रफी सार्वजनिक गर्नुभयो। ट्रफी सार्वजनिक गर्दै सांसद पन्तले वीरगन्जको खेलकुद विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
प्रतियोगिताका संयोजक सुमित कादमियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्ने र वीरगन्जको खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्ने उद्देश्यले लिग आयोजना गरिएको बताउनुभयो। बीपीएलको तेस्रो संस्करणले क्रिकेट प्रेमीहरूलाई थप मनोरञ्जन र खेलाडीहरूलाई उत्कृष्ट मञ्च प्रदान गर्ने आयोजकको दाबी छ।
ट्रफी सार्वजनिक कार्यक्रममा बीपीएलमा सहभागी हुने विभिन्न टिमका कप्तानहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सुमित चौरसिया, निरज गुप्ता लगायतका युवाहरूको उल्लेख्य सहभागिता थियो भने कार्यक्रमको सञ्चालन सद्दाम हुसेनले गर्नुभएको थियो।
वीरगन्जमा क्रिकेटको क्रेज बढ्दै गएको अवस्थामा हुन लागेको यो तेस्रो संस्करणलाई यहाँका खेल प्रेमीहरूले निकै चासोका साथ हेरेका छन्।














