२०८२ चैत्र २१ गते, शनिबार १७:४६

अर्थमन्त्रीलाई लियाकत अलीको प्रश्नपछि सांसद हरि पन्तको प्रस्टोक्ति: “राजनीतिक प्रतिशोध साध्दैनौँ, दोषी भए मेयरले सजाय पाउनेछन्”

वीरगन्ज-

वीरगन्जको एकीकृत जाँच चौकी (ICP) निरीक्षण र उद्योगी व्यवसायीसँगको अन्तरक्रियाका लागि आएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई वीरगन्जका मेयर राजेशमान सिंहको ‘पुरानो फाइल’ बारे प्रश्न उठाइएपछि रास्वपाका स्थानीय नेता तथा सांसदले मुख खोलेका छन्।

संसद्को रोष्टमबाट विगतमा मेयर सिंहमाथि कारबाहीको माग गर्ने डा. वाग्ले अहिले आफ्नै बहुमतको सरकार हुँदा किन ‘मौन’ बसेको भन्दै निवेदक लियाकत अलीले गम्भीर प्रश्न उठाएका थिए। सोही विषयले चर्चा पाएपछि पर्सा क्षेत्र नम्बर १ का रास्वपा सांसद हरि पन्तले सामाजिक सञ्जालमार्फत पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको हो।

राजनीतिक प्रतिशोध साध्दैनौँ: सांसद पन्त

सांसद पन्तले अर्थमन्त्रीको वीरगन्ज भ्रमण महत्त्वपूर्ण भएको उल्लेख गर्दै कार्यक्रममा उठेका जिज्ञासा र मेयरको विषयमा स्पष्ट पार्नुभएको छ। उहाँले फेसबुकमा लेख्नुभएको छ, “माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ज्युको वीरगन्ज भ्रमण महत्त्वपूर्ण भयो। उहाँले उद्योगी व्यवसायी लगायत सबैको कुरा सुन्नुभयो। त्यहाँ वीरगन्जका मेयरका विषयमा पनि कुरा उठ्यो। हामी कसैलाई पनि राजनीतिक प्रतिशोध साध्दैनौँ।”

दोषी भए सजाय, निर्दोष भए सफाइ

सांसद पन्तले कानुनको शासनमा कसैलाई पनि काखा र पाखा नगरिने सङ्केत गर्दै अगाडि भन्नुभएको छ, “उनी (मेयर) दोषी छन् भने सजाय पाउनेछन्, निर्दोष छन् भने सफाइ पाउनेछन्।” पन्तको यो भनाइले रास्वपा नेतृत्वको सरकारले मेयर सिंहको मुद्दालाई प्रतिशोधका आधारमा नभई कानुनी प्रक्रियाका आधारमा हेर्ने सङ्केत गरेको छ।

भ्रमण र दबाबको राजनीति

अर्थमन्त्री वाग्लेको वीरगन्ज भ्रमणका क्रममा सुशासनको कुरा उठिरहँदा लियाकत अलीले संसद्को पुरानो रेकर्ड सम्झाएपछि रास्वपामाथि नैतिक दबाब सिर्जना भएको थियो। सांसद पन्तको यो स्पष्टीकरणले तत्कालका लागि कार्यकर्ता र शुभेच्छुकहरूलाई शान्त पार्ने प्रयास गरे पनि वीरगन्जवासीले भने ‘सुशासन’ को नारा व्यवहारमा कहिले लागू हुन्छ भन्दै पर्खिरहेका छन्।

पोडकास्ट सुन्नुहोस