वीरगन्ज–
सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न गृहमन्त्रीले बारा र पर्साको छड्के अनुगमन गरी कडा निर्देशन दिएसँगै छिमेकी जिल्लाहरूमा सुरक्षा सक्रियता ह्वात्तै बढाइएको छ। पर्सासँग जोडिएका रौतहट र बाराका सुरक्षा निकायहरूले आपसी समन्वयलाई तीव्र पार्दै सीमा नाकामा निगरानी कडा पारेका हुन्।
पर्सा र आसपासका क्षेत्रमा अवैध गतिविधि रोक्न मध्य तराईका बारा, पर्सा, रौतहट र सर्लाहीका सुरक्षा अधिकारीहरूबीच आवश्यक समन्वय गरिएको छ। सोही समन्वयका आधारमा रौतहट प्रहरीले ९०० प्रहरी जनशक्ति परिचालन गरी हरेक ५ किलोमिटरमा प्रहरी पोष्टको व्यवस्था गरेको छ।
रौतहट प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार पर्सा लगायतका छिमेकी जिल्लाका सुरक्षा अधिकारीहरूसँगको समन्वयमा सुरक्षा व्यवस्था बलियो बनाइएपछि तस्करहरूको भागाभाग भएको छ भने राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ।











