२०८३ असार १९ गते, शुक्रबार २०:३८

संघर्ष समितिको अवरोधपछि वीरगन्जमा सडक विस्तार कार्य रोकियो

वीरगन्ज-

वीरगन्ज बचाउ संघर्ष समितिको अवरोधपछि वीरगन्जको गण्डक क्षेत्रमा भइरहेको सडक विस्तार कार्य रोकिएको छ।

त्रिभुवन राजपथअन्तर्गत वीरगन्जको गण्डक क्षेत्रमा शुक्रबार अपराह्न २ बजेदेखि सुरु गरिएको सडक विस्तार कार्य संघर्ष समितिको अवरोधपछि अपराह्न ४ः३० बजेदेखि स्थगित गरिएको हो।

गण्डक चोक–बहुअरी सडकखण्डस्थित वीरगन्ज हेल्थ केयर अस्पताल नजिक भइरहेको सडक विस्तारका क्रममा स्थानीय युवा तथा संघर्ष समितिका सदस्यहरूले होहल्ला गर्दै अवरोध गरेपछि अतिक्रमित संरचना हटाउने कार्य हालका लागि रोकिएको सडक डिभिजन कार्यालय, हेटौँडाका इन्जिनियर दुर्गा प्रसादले जानकारी दिनुभयो।

उहाँका अनुसार कार्यालयको पूर्वनिर्धारित तालिकाअनुसार साँझ ५ बजेदेखि काम रोक्ने योजना थियो। तर संघर्ष समितिका व्यक्तिहरूले अवरोध सिर्जना गरेपछि निर्धारित समयभन्दा करिब आधा घण्टा अगावै काम बन्द गरिएको हो।

ूहामी साँझ ५ बजेसम्म काम गरेर त्यसपछि रोक्ने र भोलि बिहानदेखि पुनः काम सुरु गर्ने योजनामा थियौँ। तर स्थानीय युवा तथा संघर्ष समितिका केही व्यक्तिले अवरोध सिर्जना गरेपछि उनीहरूसँग झडपको अवस्था आउन नदिन काम बन्द गर्नु उपयुक्त ठान्यौँ,ू इन्जिनियर दुर्गाले भन्नुभयो।

उहाँले हाल देखिएको स्थानीय अवरोधका विषयमा माथिल्लो निकाय तथा जिल्ला प्रशासनसँग छलफल गरिने र त्यसपछि मात्र सडक विस्तारको काम पुनः अघि बढाइने बताउनुभयो।

इन्जिनियर दुर्गाका अनुसार शुक्रबार अतिक्रमित संरचना हटाउन दुईवटा डोजर परिचालन गरिएको थियो। यदि शनिबार पनि सडक विस्तारको काम सञ्चालन भए चारवटा डोजर परिचालन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस