२०८३ असार २० गते, शनिबार १९:३३

बारामा नाबालिकामाथि जबरजस्ती करणी प्रयास: मानसिक यातना सहन नसकी आत्महत्या, ७ जनाविरुद्ध दुरुत्साहनको मुद्दा

सिमरा

बाराको कलैयामा एक नाबालिकामाथि जबरजस्ती करणीको प्रयास र त्यसपछि निरन्तर मानसिक तथा शारीरिक यातना दिएर आत्महत्या गर्न बाध्य पारेको भन्दै इलाका प्रहरी कार्यालय सिमरामा किटानी जाहेरी दर्ता गरिएको छ।

कलैया उपमहानगरपालिका वडा नं. २१ भोडहा बस्ने मेराज मियाकी पत्नी सहिमा खातुनले आफ्नी छोरी सैया खातुनलाई आत्महत्याको स्थिति सम्म पुर्‍याउने स्थानीय ७ जनाविरुद्ध कानूनी कारबाही र हदैसम्मको सजाय माग गर्दै जाहेरी दरखास्त दिनुभएको हो।

जाहेरीमा भोडहा टोलका ५५ वर्षीय शिकारी मिया अन्सारी, ४५ वर्षीय सेर महमद मिया, २६ वर्षीय नासिर देवान, २२ वर्षीय नजबुलाह अन्सारी, २० वर्षीय साहिल अन्सारी, १९ वर्षीय इर्साद अन्सारी र १९ वर्षीय जनोदिन मिया अन्सारीलाई विपक्षी बनाइएको छ।

शौच गर्न गएकी नाबालिकामाथि सामूहिक आक्रमण

प्रहरीमा दर्ता भएको जाहेरी अनुसार गत असार १५ गते दिउँसो करिब २:५५ बजेको समयमा नाबालिका सैया खातुन गाउँभन्दा उत्तरतर्फ रहेको सरेह (खेत) मा एक्लै शौच गर्न गएकी थिइन्। सोही मौका छोपी त्यहाँ रहेका विपक्षीहरूले उनलाई चारैतिरबाट घेरेका थिए।

शिकारी मिया अन्सारी र सेर महमद मियाको उक्साहटमा सम्पूर्ण आरोपीहरूले नाबालिकाको संवेदनशील अङ्गहरूमा समात्दै जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए। पीडितले प्रतिवाद गरेपछि उनीहरूले अन्धाधुन्ध कुटपिट समेत गरे। करणी गर्न असफल भएपछि आरोपीहरूले यो कुरा घरमा कसैलाई भनेमा आमासहित दुवैलाई कुटपिट गर्ने र गाउँभरि बदनाम गराइदिने धम्की दिएर छाडेका थिए।

घरमै पुगेर धम्की र मानसिक यातना

नाबालिकाले घर फर्केर रुँदै आमालाई घटनाबारे बताएपछि सोही दिन आमा सहिमा खातुनले आरोपीहरूको घरमा गई प्रतिवाद गर्दै गाउँमा पञ्चायती बसाल्ने र मुद्दा मामिला गर्ने चेतावनी दिनुभएको थियो।

यही रिसिबीका कारण भोलिपल्ट अर्थात् असार १६ गते बिहान १०:०० बजे सम्पूर्ण विपक्षीहरू पीडितकै घरमा आइपुगेका थिए। उनीहरूले आमालाई कुरा सुनाएको भन्दै नाबालिकालाई पुनः कुटपिट गर्नुका साथै “हिजो तिम्रो शरीरका विभिन्न अङ्ग छामिसकेका छौँ, अब यो कुरा गाउँभरि फैलाएर तिम्रो र बुवाआमाको इज्जत बर्बाद पारिदिन्छौँ” भनी गम्भीर मानसिक यातना र धम्की दिएका थिए।

सहन नसकी कोठामै देहत्याग

विपक्षीहरू गएलगत्तै गम्भीर मानसिक तनावमा परेकी नाबालिकाले आफ्नै कोठामा गएर भित्रबाट ढोका थुनेकी थिइन्। लामो समयसम्म आवाज नआएपछि शङ्का लागेर आमा र स्थानीय गाउँलेहरूले ढोका फुटाएर हेर्दा उनी कोठाभित्र दुपट्टाको पासो लगाई झुन्डिएको अवस्थामा फेला परिन्। उनलाई तत्कालै उपचारका लागि कलैयास्थित अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकहरूले मृत घोषित गरिदिएका थिए।

“आफ्नी छोरीलाई शारीरिक एवं मानसिक यातना दिएकै कारण आत्महत्या गर्न विवश पारिएको हो। शव परीक्षण (पोस्टमार्टम) प्रतिवेदन सहितका प्रमाणका आधारमा दोषीहरूलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गरियोस्।”

– पीडितकी आमा (जाहेरवाली)

जाहेरीमा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को अपराध अन्तर्गत दफा ३४ (जबरजस्ती करणी उद्योग) तथा दफा १८५ (आत्महत्या दुरुत्साहन) बमोजिम हदैसम्मको दण्ड सजाय र उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस