२०८३ असार २२ गते, सोमबार २०:५१

वीरगन्जका क्यासिनोमा नेपालीलाई सहज प्रवेश: स्थानीय व्यवसायी ‘बिल्लीबाठ’, सिमानामा तस्करी हुँदा प्रशासन मौन

वीरगन्ज

पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले वीरगन्जमा सञ्चालित क्यासिनोहरूमा नेपाली नागरिकको सहज प्रवेशका कारण स्थानीय उद्योगी, व्यवसायी र सर्वसाधारणको ‘बिल्लीबाठ’ भएको भन्दै संसद्मा सरकारको तीव्र आलोचना गर्नुभएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले जनप्रतिनिधिहरूले सदनमा उठाएको आवाज आफ्नै सरकारसम्म नपुग्नु र सुनुवाइ नहुनु अत्यन्तै दुःखद भएको टिप्पणी गर्नुभयो। वीरगन्जका क्यासिनोमा नेपालीको अवैध प्रवेशको विषय पन्तले सदनमा उठाएको यो दोस्रो पटक हो।

क्यासिनोले समाज छिन्नभिन्न, स्थानीय प्रशासनको मिलेमतोको आरोप

भारत तथा तेस्रो मुलुकका पर्यटक भित्र्याउने प्रावधानसहित सञ्चालन अनुमति पाएका वीरगञ्जका क्यासिनोहरूले नियमको धज्जी उडाउँदै नेपालीहरूलाई निर्बाध प्रवेश गराइरहेको सांसद पन्तले बताउनुभयो।

सदनमा कडा रूपमा प्रस्तुत हुँदै उहाँले भन्नुभयो “क्यासिनोमा नेपालीहरूको सहज प्रवेशले यहाँका उद्योगी र व्यवसायीहरू बिल्लीबाठ भइसकेका छन्। त्यति मात्र होइन, यसकै कारण स्थानीयको घरायसी र सामाजिक सम्बन्ध समेत क्षत-विक्षत भएका थुप्रै उदाहरणहरू छन्। सरकारले क्यासिनोमा नेपालीलाई पूर्ण रूपमा प्रवेश निषेध गरोस् र यसमा दोषी देखिने स्थानीय प्रशासनलाई तत्काल कारबाही गरोस्।” सर्वसाधारणले सीमापारिबाट घरायसी प्रयोजनका लागि २ हजार रुपैयाँको सामान ल्याउँदा समेत चेकजाँचका नाममा सास्ती दिइने तर तस्करहरूले लाखौँ लाखको सामान भित्र्याउँदा स्थानीय प्रशासन मौन बस्ने गरेको उहाँले आरोप समेत लगाउनुभयो।

गृहमन्त्रीको ‘स्टिङ अपरेसन’ कहाँ पुग्यो?

केही दिनअघि वीरगन्ज क्षेत्रमा गृहमन्त्रीले गरेको आकस्मिक ‘छड्के’ र ‘स्टिङ अपरेसन’ को परिणामबारे प्रश्न उठाउँदै सांसद पन्तले त्यसको प्रगति सार्वजनिक गर्न माग गर्नुभयो। “हाम्रो क्षेत्रका जनताले गृहमन्त्रीको त्यो छड्के अनुगमनको विषयमा बडो चासोका साथ पर्खिरहेका छन्, पन्तले भन्नुभयो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस