वीरगन्ज-
नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा नेपाल-भारत मैत्री युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महेन्द्र राय यादव ले युवाहरूलाई कुलततर्फ धकेल्ने मदिरा, चुरोट र गुटखाको बिक्री-वितरणमा मधेस प्रदेश सरकारले प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्।
मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुनुका साथै युवाहरूलाई लागुऔषध दुर्व्यसनतर्फ आकर्षित गराउने प्रमुख माध्यमका रूपमा मदिरा, चुरोट र गुटखा रहेको उल्लेख गर्दै अध्यक्ष यादवले यस्ता वस्तुको बिक्री-वितरणमा पूर्ण प्रतिबन्ध लगाउन मधेस प्रदेश सरकारसँग आग्रह गरे।
नेपाल–भारत मैत्री युवा संघ पर्साले सोमबार वीरगन्जमा आयोजना गरेको लागुऔषधविरुद्धको सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मदिरा, चुरोट र गुटखाको बिक्री-वितरणमा प्रतिबन्ध लगाउन सके लागुऔषध प्रयोगकर्ताको संख्या उल्लेखनीय रूपमा घटाउन सकिने विश्वास व्यक्त गरे।
नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या चिन्ताजनक रूपमा बढ्दै गएको उल्लेख गर्दै उनले यसको नियन्त्रणका लागि विद्यालय तहबाटै प्रभावकारी पहल गर्न आवश्यक रहेको बताए।
लागुऔषध प्रयोगबाट हुने हानि-नोक्सानीका विषयलाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न सके लागुऔषध प्रयोगकर्ताको संख्या घटाउन सहयोग पुग्ने उनको भनाइ थियो।
अध्यक्ष यादवले युवाको मतबाट वर्तमान सरकार सत्तामा पुगे पनि युवाका हितमा अपेक्षित काम गर्न नसकेको दाबी गरे।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई लागुऔषधलाई ‘होइन’ भन्ने बानीको विकास गर्न, अध्ययनमा पूर्ण रूपमा केन्द्रित हुन तथा आफ्नो भविष्य निर्माणमा ध्यान दिन उनले आग्रह गरे। जीवनमा शिक्षाको महत्व अत्यधिक रहेको उल्लेख गर्दै उनले शिक्षा बिग्रिए व्यक्तिको मात्र नभई समाज र राष्ट्रकै भविष्यमा समेत नकारात्मक असर पर्ने बताए।
नेपाल-भारत मैत्री युवा संघ पर्साका अध्यक्ष शैलेन्द्र यादव को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र चौधरी, वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीना तथा नेपाली कांग्रेस पर्साका अध्यक्ष जनार्दन सिंह क्षेत्री लगायतका वक्ताहरूले लागुऔषध दुर्व्यसनविरुद्धको अभियान विद्यालय तहबाटै सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
वक्ताहरूले लागुऔषध दुर्व्यसन सामाजिक कुरीतिका रूपमा विकसित हुँदै गएकाले यसको नियन्त्रणका लागि राज्य गम्भीर बन्नुपर्ने र यसलाई सामाजिक अभियानका रूपमा अगाडि बढाउन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।












