काठमाडौं-
काठमाडौंसहित देशका विभिन्न स्थानमा पछिल्लो समय आगलागी, ग्यास विस्फोट र आत्मदाहका घटनाबाट गम्भीर रूपमा जलेका बिरामीको संख्या बढ्दै गएपछि सरकारले देशभर जलन उपचार सेवा विस्तारलाई प्राथमिकतामा राख्ने तयारी थालेको छ। यसैक्रममा प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न बर्न (जलन) उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले गम्भीर जलनका बिरामीले समयमै विशेषज्ञ उपचार नपाउँदा ज्यान गुमाउने वा दीर्घकालीन अपाङ्गता भोग्नुपर्ने अवस्था अन्त्य गर्न प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणलाई उच्च प्राथमिकता दिन निर्देशन दिएका हुन्।
उनले जलनका बिरामीको उपचारलाई प्रभावकारी बनाउन संघ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच समन्वय बढाउन तथा आवश्यक जनशक्ति, उपकरण र पूर्वाधार व्यवस्थापनमा ढिलाइ नगर्न आग्रह गरे।
प्रधानमन्त्री शाहले गुणस्तरीय, प्रभावकारी र नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालको सरसफाइ, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयनमा जोड दिए।
त्यस्तै, आर्थिक रूपमा विपन्न तथा असहाय नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले ओपिडी सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न पनि उनले निर्देशन दिए।
छलफलका क्रममा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर सुधार, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवर्द्धन, डिजिटल स्वास्थ्य प्रणाली तथा अस्पतालको पूर्वाधार विकासका विषयमा सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले केही प्रतिष्ठानको जग्गा अतिक्रमणका कारण संस्थागत विकास प्रभावित भएको विषय पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
हालै देशका विभिन्न जिल्लामा आगलागी, ग्यास सिलिन्डर विस्फोट तथा आत्मदाहका घटनामा वृद्धि भइरहेका बेला सरकारले सातै प्रदेशमा सुविधासम्पन्न बर्न उपचार केन्द्र विस्तार गर्ने निर्णयलाई जलनका बिरामीको उपचार पहुँच सुधार गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।












