२०८३ असार २९ गते, सोमबार १८:५७

सञ्चारगृहको गेटमा ‘रहस्यमय घेराबन्दी’! राज्य मौन किन? महासंघले उठायो गम्भीर शंका

काठमाडौं –

राजधानीका प्रमुख सञ्चारगृहहरूको गेटअगाडि सोमबार बिहानैदेखि रहस्यमय ढंगले गाडीहरू पार्क गरिएपछि त्यसको उद्देश्य र योजनाकारबारे अनेक प्रश्न उठ्न थालेका छन्। पत्रकारहरूलाई आवतजावतमै अवरोध हुने गरी गरिएको यो गतिविधिलाई नेपाल पत्रकार महासंघले सामान्य घटना मान्न अस्वीकार गर्दै यसमा राज्य संयन्त्रकै भूमिका हुन सक्ने गम्भीर आशंका व्यक्त गरेको छ।

महासंघकी अध्यक्ष निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र सचिव रमेश खतिवडासहितको टोलीले घटनास्थलको स्थलगत अध्ययनपछि सार्वजनिक गरेको निष्कर्षले घटनालाई अझ रहस्यमय बनाएको छ। महासंघका अनुसार बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको मूल गेटअगाडि शंकास्पद रूपमा गाडीहरू छाडिएका थिए।

झन् आश्चर्यजनक पक्ष के देखियो भने, दिउँसो २ बजेसम्म ती गाडी हटाउने कुनै प्रभावकारी पहल भएन। घटनास्थलमै प्रहरी उपस्थित हुँदाहुँदै पनि उनीहरू केवल हेरेर बसेको दृश्यले अनेक प्रश्न जन्माएको महासंघको भनाइ छ। यी गाडी कसले ल्यायो? किन सञ्चारगृहकै गेट रोजियो? र राज्य संयन्त्र किन निष्क्रिय देखियो? यिनै प्रश्नको जवाफ अझै अस्पष्ट छ।

महासंघले आफ्नो विज्ञप्तिमा यस्तो अवस्था संयोग मात्र नभई सञ्चारमाध्यमलाई त्रसित बनाउने सुनियोजित प्रयास हुन सक्ने आशंका व्यक्त गरेको छ। प्रहरीको निष्क्रियता र सम्बन्धित निकायको मौनताले घटनाप्रति राज्यकै संलग्नता वा कम्तीमा संरक्षण रहेको शंका बलियो बनाएको महासंघको दाबी छ।

महासंघले यसलाई प्रेस स्वतन्त्रतामाथिको भौतिक दबाब र मनोवैज्ञानिक आतंक सिर्जना गर्ने प्रयास को रूपमा व्याख्या गर्दै दोषीको निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग गरेको छ। साथै सञ्चारगृहको गेटमा राखिएका अवरोध तत्काल हटाई पत्रकार र सञ्चार संस्थाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।

यस घटनाले एउटा नयाँ प्रश्न पनि जन्माएको छ । यो केवल पार्किङको विषय थियो, कि स्वतन्त्र सञ्चारमाथि दबाब सिर्जना गर्ने कुनै ठूलो योजनाको प्रारम्भ? यसको उत्तर अब राज्यका सम्बन्धित निकायको छानबिनले मात्र दिन सक्नेछ।
:::

प्रतिक्रिया

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस

पोडकास्ट सुन्नुहोस