काठमाडौं–
सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभन देखाई अनलाइन ठगी तथा अवैध क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक नेपालीसहित पाँच जनालाई पक्राउ गरेको छ।
साइबर ब्युरोका अनुसार फेसबुकमा “कतारस्थित कम्पनीमा अन्तर्वार्ताबिनै (Direct Hire) रोजगारी पाइन्छ” भन्ने भ्रामक विज्ञापन प्रचार गरी सेवाग्राहीलाई शंकास्पद मोबाइल एप डाउनलोड गर्न लगाइन्थ्यो। त्यसपछि पीडितको बैंक खातामा रहेको रकम अनधिकृत रूपमा अन्य खातामा स्थानान्तरण गरी ठगी गरिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा उक्त गिरोहको संलग्नता पुष्टि भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बंगलादेशतर्फ प्रस्थान गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ।
अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले अनलाइन जुवा (अनलाइन गेम्बलिङ) सञ्चालन गर्नुका साथै BINANCE मार्फत Crypto तथा USDT कारोबारसमेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ।
पक्राउ पर्नेमा काठमाडौं कोटेश्वर बस्दै आएका महोत्तरी रामगोपालपुर नगरपालिका–९ का २९ वर्षीय सुभाष कुमार मण्डल रहेका छन्। त्यस्तै बंगलादेशका नागरिक २५ वर्षीय महम्मद जुबायर अहमेद अहम्द, २६ वर्षीय महम्मद नुर आलम, २४ वर्षीय महम्मदनासिम मिया र २७ वर्षीय महम्मद रानी कमाल पनि पक्राउ परेका छन्।
साइबर ब्युरोले उनीहरूमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालमा देखाइने आकर्षक रोजगारीका विज्ञापनप्रति सजग रहन तथा अपरिचित एप डाउनलोड नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।












