२०८३ असार ३० गते, मंगलवार १६:०७

सिर्सिया नदी प्रदूषणको मुद्दा संसद्‌मा: उद्योगहरूको लापरबाहीले ऐतिहासिक नदी संकटमा, सांसद हरि पन्तद्वारा सरकारको ध्यानाकर्षण​

वीरगन्ज-

पथलैया-वीरगन्ज औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूले हानिकारक एवं केमिकलसहितको विषाक्त पानी विनाप्रशोधन सिधै नदीमा मिसाउँदा प्राचीन सिर्सिया नदी दुर्गन्धित नालामा परिणत भएको विषय प्रतिनिधि सभामा जोडदार रूपमा उठाइएको छ।

मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले सदियौँदेखि वीरगन्ज हुँदै बग्ने ऐतिहासिक सिर्सिया नदी उद्योगहरूको चरम लापरबाही र हेलचेक्र्याइँका कारण अहिले अस्तित्व संकटमा परेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो।

​संसद्को शून्य समयमा बोल्दै सांसद पन्तले कुनै समय अत्यन्तै श्रद्धाका साथ मनाइने लोक आस्थाको महापर्व छठमा सिर्सिया नदीकै पानी उभाएर पवित्र अर्घ दिन सकिने अवस्था रहेको स्मरण गराउनुभयो। तर, अहिले उद्योगहरूको चरम प्रदूषणका कारण नदी यति दुर्गन्धित र विषाक्त भएको छ कि छठ पर्वका बेला व्रत बस्ने श्रद्धालुहरूलाई नदी किनारमा खुट्टा समेत राख्न नसकिने विकराल अवस्था सिर्जना भएको उहाँले संसद्‌मा उल्लेख गर्नुभयो। धार्मिक र सांस्कृतिक महत्त्व बोकेको नदी उद्योगीहरूको स्वार्थका कारण मृतप्रायः बनेको भन्दै उहाँले आपत्ति जनाउनुभयो।

​औद्योगिक प्रदूषणका कारण नालामा परिणत भएको सिर्सिया नदी अहिले वीरगन्ज र आसपासका क्षेत्रमा उधुमै लाग्ने लामखुट्टेको मुख्य प्रजनन केन्द्र बनेको सांसद पन्तको भनाइ थियो। नदीको तीव्र दुर्गन्ध र लामखुट्टेको अनियन्त्रित प्रकोपका कारण नदीको दुवै किनारमा रहेका दर्जनौँ बस्तीका सर्वसाधारणलाई राति चैनले सुत्न समेत नसक्ने बातावरण बनेको भन्दै उहाँले स्थानीय नागरिकको जनस्वास्थ्यमा ठूलो महामारीको खतरा निम्तिएको प्रति चिन्ता व्यक्त गर्नुभयो।

​विगत केही वर्षदेखि देखिँदै आएको यो विकराल समस्यालाई अहिलेसम्मका कुनै पनि सङ्घीय, प्रदेश र स्थानीय सरकारहरूले आ-आफ्नो घोषणापत्रहरूमा समावेश गरी चुनावी नारा बनाउनुबाहेक ठोस काम नगरेको आरोप सांसद पन्तले लगाउनुभयो। नेताहरूले भोट माग्ने माध्यम मात्र बनाएको तर नदीको वास्तविक अवस्था सुधार्न कसैले पाइलो नचालेको उहाँको गुनासो थियो।
​”विगतका सरकारहरूले सिर्सिया सफाइको विषयलाई केवल आफ्नो चुनावी घोषणापत्र र नारामा मात्र सीमित राखे। आजका दिनसम्म कसैले माखो सम्म मारेका छैनन्। तर यसपालि रास्वपालाई अगाध विश्वासका साथ मतदान गरेका जनताले यो सरकारसँग ठूलो आशा राखेका छन्।”

​यसपालि वीरगन्ज र समग्र पर्सावासीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अगाध विश्वासका साथ मतदान गरेको उल्लेख गर्दै सांसद पन्तले त्यहाँका त्रसित र पीडित नागरिकले वर्तमान सरकारसँग सिर्सिया नदी सफाइको ठूलो अपेक्षा र आशा राखेको स्पष्ट पार्नुभयो। जनमतको कदर गर्दै सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो।
​सिर्सिया नदीलाई पुनर्जीवन दिन, विनाप्रशोधन ढल र केमिकल मिसाउने उद्योगहरूलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न र नदी सफाइका निमित्त यथाशीघ्र ठोस एवं दीर्घकालीन कदम चाल्नका लागि सांसद पन्तले सम्माननीय सभामुखमार्फत नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ। संसद्‌मा उठाइएको यस विषयलाई लिएर तटीय क्षेत्रका नागरिकहरूले सरकारको आगामी कदमलाई नजिकबाट नियालिरहेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस