२०८३ असार ३० गते, मंगलवार १६:२२

उखु किसानलाई वर्षौंदेखि झुक्याउँदै भुक्तानी नगरेपछि अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

सर्लाही –

उखु खरिद गरेपछि वर्षौंदेखि किसानलाई करोडौं रुपैयाँ भुक्तानी नगरी झुक्याउँदै आएको आरोप लागेका अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ परेका छन्। लामो समयदेखि आफ्नो पसिनाको मूल्य नपाएपछि किसानले दिएको उजुरीका आधारमा प्रहरीले मिलका सञ्चालक शैलेन्द्र गुप्ता र विनोद साह कलवारलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले गत बिहीबार दुवै सञ्चालकलाई पक्राउ गरेको जनाएको छ। उखु किसानहरूले मिलले पटक-पटक भुक्तानी गर्ने आश्वासन दिए पनि रकम नदिई आलटाल गर्दै आएको भन्दै प्रहरीमा उजुरी दिएका थिए।

सर्लाही प्रहरीका प्रवक्ता तथा डीएसपी वेदप्रसाद गौतमका अनुसार किसानको उजुरीका आधारमा दुवै जनाविरुद्ध ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

डीएसपी गौतमले उखु खरिद गरेबापत किसानको करोडौं रुपैयाँ लामो समयदेखि बक्यौता रहेको र त्यसबाट हजारौं किसान प्रत्यक्ष प्रभावित भएको उजुरी प्राप्त भएपछि अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए।

अन्नपूर्ण चिनी मिलविरुद्ध उखु किसानको भुक्तानी नदिएको विवाद नयाँ भने होइन। पटक-पटक आन्दोलन, वार्ता र सरकारी प्रतिबद्धतापछि पनि धेरै किसानले आफ्नो मेहनतको रकम नपाएको गुनासो गर्दै आएका छन्। पछिल्लो पक्राउसँगै वर्षौंदेखि भुक्तानीको प्रतीक्षामा रहेका किसानले न्यायको अपेक्षा गरेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस