२०८३ श्रावण १ गते, शुक्रबार १२:५४

समुद्रमै सामूहिक त्रासदी: म्यानमार नजिक डुंगा दुर्घटनामा ५०० भन्दा बढी रोहिंग्या शरणार्थीको मृत्यु आशंका

काठमाडौं –

म्यानमारको तटनजिकै शरणार्थी बोकेका दुई डुंगा समुद्रमा डुबेको आशंकासँगै ५०० भन्दा बढी रोहिंग्या शरणार्थीको मृत्यु भएको हुन सक्ने भयावह विवरण सार्वजनिक भएको छ। यदि पुष्टि भए यो हालैका वर्षहरूकै सबैभन्दा ठूलो समुद्री शरणार्थी दुर्घटनामध्ये एक हुनेछ।

अन्तर्राष्ट्रिय बसाइँसराइ संगठन (IOM) र संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (UNHCR) ले संयुक्त विज्ञप्ति जारी गर्दै दुवै डुंगा जुनको अन्तिम सातातिर म्यानमारको रखाइन राज्यबाट सुरक्षित आश्रयको खोजीमा समुद्रतर्फ प्रस्थान गरेको जनाएको छ। डुंगामा सवार अधिकांश यात्रु उत्पीडित रोहिंग्या समुदायका थिए।

प्रारम्भिक विवरणअनुसार करिब २५० यात्रु बोकेको पहिलो डुंगा यात्रा सुरु गरेको केही समयमै सम्पर्कविहीन भएको थियो भने झन्डै २८० यात्रु रहेको दोस्रो डुंगा जुलाई ८ मा बंगालको खाडीमा डुबेको आशंका गरिएको छ। उद्धारको आशा क्षीण बन्दै जाँदा मृतकको संख्या ५०० नाघ्न सक्ने अनुमान गरिएको छ।

संयुक्त राष्ट्रसंघका निकायहरूले यस वर्ष मात्रै बंगालको खाडी र अन्डमान सागर क्षेत्रमा रोहिंग्या शरणार्थी तथा बंगलादेशी नागरिकसहित करिब ३०० जना बेपत्ता वा मृत भएको तथ्यांक सार्वजनिक गरेका छन्। पछिल्लो दुर्घटनाले समुद्री मार्ग हुँदै भाग्न बाध्य शरणार्थीहरूको जोखिम झनै भयावह बनेको देखाएको छ।

सन् २०१७ मा म्यानमारको रखाइन राज्यमा सेनाले सञ्चालन गरेको सैन्य अभियानपछि रोहिंग्या समुदायमाथि व्यापक हिंसा र दमन भएको आरोप लाग्दै आएको छ। त्यसयता सात लाखभन्दा बढी रोहिंग्या छिमेकी बंगलादेशमा शरण लिन बाध्य भएका छन्।

म्यानमार सरकारले रोहिंग्यामाथि दुर्व्यवहार गरेको आरोप अस्वीकार गर्दै आए पनि उनीहरूलाई आजसम्म पनि देशको नागरिकको मान्यता दिएको छैन। नागरिकता, सुरक्षा र आधारभूत अधिकारबाट वञ्चित रोहिंग्याहरू अहिले पनि सुरक्षित भविष्यको खोजीमा ज्यानको जोखिम मोलेर समुद्री यात्रा गर्न बाध्य भइरहेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस