काठमाडौं –
यमनमा सक्रिय हुथी विद्रोहीले साउदी अरेबियाको महत्वपूर्ण औद्योगिक तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरेपछि विश्वव्यापी इन्धन आपूर्तिमा असर पर्न सक्ने चिन्ता बढेको छ।
हुथीले साउदी अरेबियाको जिजानस्थित औद्योगिक क्षेत्रमा मिसाइल र ड्रोन प्रहार गरेको हो। उक्त क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरामकोसँग सम्बन्धित महत्वपूर्ण ऊर्जा पूर्वाधारसमेत रहेका कारण आक्रमणपछि विश्व बजारमा तेल आपूर्तिको सम्भावित जोखिमबारे चासो बढेको छ।
आक्रमणका कारण केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको जनाइएको छ। जिजानसहित यान्बु र दमाद क्षेत्रमा समेत असर परेको बताइएको छ। साउदी नागरिक सुरक्षा निकायले यान्बु प्रान्तका बासिन्दालाई ‘नेसनल अर्ली वार्निङ प्लेटफर्म’मार्फत आपत्कालीन सतर्कता जारी गरेको छ।
विश्वको ऊर्जा आपूर्ति प्रणालीमा साउदी अरेबियाको महत्वपूर्ण भूमिका रहेकाले त्यहाँका तेल तथा ऊर्जा पूर्वाधारमा हुने कुनै पनि ठूलो आक्रमणले अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्ति, तेलको मूल्य र ढुवानी व्यवस्थामा असर पार्न सक्ने चिन्ता बढ्ने गरेको छ। पछिल्लो आक्रमणले पनि मध्यपूर्वमा बढ्दो तनावले विश्व इन्धन बजारमा थप अस्थिरता निम्त्याउन सक्ने संकेत गरेको छ।
यो आक्रमण साउदी अरेबियाले हुथीको नियन्त्रणमा रहेको यमनको होदेदामाथि हवाई हमला गरेको केही समयपछि भएको हो। शुक्रबार राति भएको उक्त आक्रमणपछि हुथीको विदेश मन्त्रालयले साउदी अरेबियाले त्यसको ‘महँगो मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएको थियो।
हुथीसम्बद्ध अल–मसिराह टेलिभिजनका अनुसार साउदी आक्रमणमा होदेदास्थित दूरसञ्चार प्राधिकरणका भवन तथा कमारान टापुलाई समेत निसाना बनाइएको थियो। उक्त आक्रमणमा एक महिला घाइते भएको जनाइएको छ।
साउदी अरेबियाको ऊर्जा पूर्वाधारलाई लक्षित गरी भएको पछिल्लो हमलापछि क्षेत्रीय तनाव थप चर्किएको छ। ऊर्जा पूर्वाधारमा निरन्तर आक्रमणको जोखिम बढेमा विश्व बजारमा इन्धन आपूर्तिको अनिश्चितता बढ्न सक्ने भएकाले अन्तर्राष्ट्रिय समुदायले मध्यपूर्वको सुरक्षा अवस्थालाई गम्भीर चासोका साथ हेरिरहेको छ।












