२०८३ श्रावण १० गते, आईतवार १६:०२

सीमावर्ती क्षेत्रमा नेपाली–भारतीय रुपैयाँको सहटी बढेसँगै अवैध रकम ओसारपसार बढ्दो

सर्लाही –

नेपाल र भारतबीच हुने नेपाली तथा भारतीय रुपैयाँको सहटी कारोबारका कारण सीमावर्ती क्षेत्रमा स्रोत नखुलेको रकमको अवैध ओसारपसार बढ्दै गएको देखिएको छ। खुला सीमाको फाइदा उठाउँदै ठूलो परिमाणमा नगद रकम एक स्थानबाट अर्को स्थानमा लैजाने क्रम बढिरहेका बेला सर्लाहीको मलंगवाबाट स्रोत नखुलेको ७ लाख ५७ हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन्।

सीमा सुरक्षा गुल्म हेडक्वार्टर मलंगवाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले मलंगवा नगरपालिका–८ स्थित सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको रकम र मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाका आधारमा जाँच गर्ने क्रममा ती व्यक्तिको साथबाट ७ लाख ५७ हजार नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। रकमको स्रोत खुलाउन नसकेपछि उनलाई प्रयोग गरिएको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका व्यक्ति, बरामद नगद रकम र मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा नेपाली र भारतीय रुपैयाँको अनौपचारिक सहटी कारोबार हुने गरेको र त्यसैको आडमा स्रोत नखुलेको रकम ओसारपसार हुने गरेको सुरक्षा निकायको आशंका छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा नगद रकम बरामद हुने घटना बढ्दै गएपछि अवैध मुद्रा ओसारपसार नियन्त्रण चुनौती बन्दै गएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस