२०८३ श्रावण १० गते, आईतवार १६:४६

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, मृतकका आफन्तको कुटपिटबाट डा. प्रमोद आईसीयूमा भर्ना

वीरगन्ज-

मधेस प्रदेशमा सबैभन्दा बढी बिरामीको उपचार हुने वीरगन्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी) सेवा बन्द भएको छ। आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि शनिबार भएको कुटपिटको विरोधमा आइतबार बिहानैदेखि आकस्मिक कक्षबाट प्रदान गरिने उपचार सेवा बन्द गरिएको हो।

आकस्मिक कक्षमा काम गर्ने वातावरण नरहेको र चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षाको प्रत्याभूति महसुस नगरेका कारण सेवा बन्द गर्नुपरेको नारायणी अस्पतालका एक चिकित्सकले जानकारी दिए।

वीरगन्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको शनिबार उपचारका क्रममा मृत्यु भएको थियो। पटेलको उपचारमा चिकित्सकले लापरवाही गरेको आरोप लगाउँदै उनका परिवारका सदस्य तथा आफन्तले आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका थिए।

मृतक पटेलका आफन्तले गरेको कुटपिटबाट आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राम गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि नारायणी अस्पतालकै आईसीयूमा भर्ना गरिएको छ।

डा. रामको टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चितरञ्जन साहले जानकारी दिए। उनका अनुसार डा. रामको स्वास्थ्य अवस्था चिन्ताजनक नरहे पनि पूर्ण रूपमा स्वस्थ भएर काममा फर्किन केही दिन लाग्नेछ।

हृदयघात (कार्डियाक अरेस्ट) भएका बिरामीको ज्यान जोगाउन कठिन हुने भन्दै मेसु साहले उपचारका क्रममा बिरामीको मृत्यु भएलगत्तै चिकित्सकलाई दोषी ठहर गर्नु गलत भएको बताए।

नारायणी अस्पतालको आकस्मिक कक्षमा बिरामीको अत्यधिक चाप रहे पनि सीमित जनशक्तिका भरमा सेवा सञ्चालन हुँदै आएको छ। आकस्मिक कक्षमा एक जना वरिष्ठ चिकित्सक, चार जना मेडिकल अफिसर र १४ जना स्वास्थ्यकर्मी (प्यारामेडिक्स)ले २४ घण्टा सेवा दिँदै आएका छन्। अस्पतालको आकस्मिक कक्षमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।

बन्द रहेको आकस्मिक सेवा पुनः सञ्चालन गराउन पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल अस्पताल पुगेका छन्। अस्पतालमा देखिएको सुरक्षा चुनौतीलाई सम्बोधन गर्दै आकस्मिक सेवा यथाशीघ्र पुनः सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए।

पटेलको मृत्यु प्रकरणपछि अस्पतालको आकस्मिक कक्षमा कार्यरत सात जना स्वास्थ्यकर्मीलाई हालका लागि सेवाबाट हटाइएको छ। आइतबार बिहान नारायणी अस्पतालको सभा कक्षमा भएको छलफलपछि सात जना स्वास्थ्यकर्मीलाई हाललाई सेवाबाट हटाउने र घटनाको सात दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्ने सहमति भएको छ। घटनाको छानबिनका लागि समिति गठन गरिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस