काठमाण्डौं –
भारतका दक्षिणी राज्यहरूमा कोरोना भाइरस संक्रमणका घटना बढ्न थालेपछि स्वास्थ्य निकायहरूले निगरानी बढाएका छन्। आन्ध्र प्रदेशमा शनिबार मात्रै कोभिड–१९ का १० नयाँ संक्रमित थपिएसँगै राज्यमा कुल संक्रमितको संख्या ४९ पुगेको छ। संक्रमणका कारण हालसम्म चार जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतमा सन् २०२० देखि २०२३ सम्म कोरोना महामारीका क्रममा देखिएको भयावह अवस्था अझै धेरैको स्मृतिमा ताजै छ। अस्पतालबाहिर बिरामीको लामो लाइन, अक्सिजनको अभाव, मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोगजस्ता अवस्था त्यसबेला जनजीवनको हिस्सा बनेका थिए। पछिल्लो समय अवस्था सामान्य बन्दै गएपछि कोरोना संक्रमणको खतरा टरिसकेको ठानिएको थियो।
तर पछिल्लो एक महिनायता भारतका महाराष्ट्र, केरल, आन्ध्र प्रदेश र तेलंगानालगायत राज्यमा कोरोना संक्रमणका घटना बढेको खबर सार्वजनिक भइरहेका छन्। विशेषगरी आन्ध्र प्रदेश र तेलंगानामा संक्रमणको संख्या बढ्दै गएको भारतीय सञ्चारसंस्था अमर उजालले जनाएको छ ।
संक्रमणमा भएको पछिल्लो वृद्धि महामारीको समयमा देखिएको स्तरको नभए पनि स्वास्थ्य विशेषज्ञहरूले यसलाई बेवास्ता नगर्न सुझाव दिएका छन्। राज्य सरकारहरूले निगरानी बढाएका छन् भने अस्पतालहरूलाई सतर्क रहन निर्देशन दिइएको छ। सम्भावित संक्रमितको परीक्षणसमेत भइरहेको छ।
पछिल्लो संक्रमण वृद्धिको मुख्य कारण ओमिक्रोनको आरएफ.५ सब–भेरियन्टलाई मानिएको बताइएको छ।
आन्ध्र प्रदेशमा ४९ संक्रमित
आन्ध्र प्रदेशमा पछिल्ला केही सातादेखि कोरोना संक्रमणका घटना निरन्तर बढिरहेका छन्। आधिकारिक विवरणअनुसार शनिबार, जुलाई २५ मा राज्यमा १० नयाँ संक्रमित थपिएका हुन्।
राज्यमा हाल २४ जना संक्रमित अस्पतालमा उपचाररत छन् भने १६ जना चिकित्सकीय निगरानीमा घरमै उपचार गराइरहेका छन्। पाँच जना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। संक्रमणका कारण चार जनाको मृत्यु भएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार पूर्वी गोदावरी जिल्लामा सबैभन्दा बढी ११ संक्रमित भेटिएका छन्। गुंटुरमा नौ, कडप्पामा आठ, विशाखापट्टनममा पाँच र एनटीआर जिल्लामा तीन संक्रमित भेटिएका छन्। काकीनाडा, एलुरु र बापट्ला जिल्लामा दुई–दुई संक्रमित पुष्टि भएका छन्।
तेलंगानामा पनि सतर्कता
तेलंगानामा पनि कोरोना संक्रमणका घटनालाई लिएर सतर्कता अपनाइएको छ। तेलंगानाका जनस्वास्थ्य तथा परिवार कल्याण निर्देशक डा. बी. रविन्द्र नायकले संक्रमणमा देखिएको पछिल्लो वृद्धि सामान्य रहेको र गत वर्षको यही अवधिमा देखिएको प्रवृत्तिसँग मिल्दोजुल्दो रहेको बताएका छन्।
उनले हालको अवस्थालाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्। यद्यपि स्वास्थ्य विशेषज्ञहरूले ज्येष्ठ नागरिक तथा पहिले नै अन्य रोगबाट पीडित व्यक्तिलाई आवश्यक स्वास्थ्य सावधानी अपनाउन सुझाव दिएका छन्।
विशेषज्ञहरूले भीडभाड हुने स्थानमा अनावश्यक रूपमा नजान, संक्रमणबाट बच्न आधारभूत स्वास्थ्य सावधानी अपनाउन र आवश्यक परे चिकित्सकीय परामर्श लिन आग्रह गरेका छन्। यी सावधानीले कोरोना मात्र नभई अन्य श्वासप्रश्वाससम्बन्धी रोगबाट समेत बच्न सहयोग पुग्ने बताइएको छ। हाल मौसमी इन्फ्लुएन्जाका घटनासमेत बढिरहेका छन्।
अस्पतालमा आपत्कालीन तयारी
संक्रमण प्रभावित शहरका अस्पतालहरूलाई सतर्क अवस्थामा राखिएको छ। सरकारी अस्पतालहरूमा कोरोना परीक्षण तथा उपचारका लागि आवश्यक तयारी गरिएको अधिकारीहरूले बताएका छन्।
अस्पतालहरूमा छुट्टै कोभिड–१९ शय्या तयारी अवस्थामा राखिएको छ भने दोस्रो तहका अस्पतालहरूलाई समेत आइसोलेसन शय्या छुट्याउन निर्देशन दिइएको छ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भने देशमा कोरोना संक्रमणको वर्तमान अवस्थालाई लिएर अनावश्यक रूपमा चिन्तित हुनुपर्ने अवस्था नरहेको जनाएको छ। मन्त्रालयले एकीकृत रोग निगरानी कार्यक्रम (आईडीएसपी), भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर), क्रिश्चियन मेडिकल कलेज, भेल्लोरलगायत विशेषज्ञ संस्थाहरूको मूल्याङ्कनलाई आधार बनाउँदै हालको अवस्थामाथि निरन्तर निगरानी भइरहेको जनाएको छ।
स्वास्थ्य अधिकारीहरूले संक्रमणका घटना बढे पनि हालको अवस्था महामारीको समयमा जस्तो गम्भीर नरहेको बताएका छन्। तर कोरोना भाइरसको नयाँ रूप देखिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै निगरानी र स्वास्थ्य पूर्वतयारीलाई निरन्तरता दिइएको छ।











