२०८३ श्रावण ३० गते, शनिबार ०९:४१

४३ वर्ष लुकेर बसे पनि अपराधबाट उम्किन सकेनन्, पुजारीको भेषमा रहेका यादव पक्राउ

सिरहा –

अपराध गरेर जतिसुकै लामो समय लुकेर बसे पनि कानुनी सजायबाट उम्किन नसकिने न्यायिक मान्यतालाई सिरहा प्रहरीले पुनः स्थापित गरेको छ। कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद सजाय पाएर ४३ वर्षदेखि फरार रहेका एक वृद्धलाई प्रहरीले पुजारीको भेषमा गाउँकै शिवमन्दिरबाट पक्राउ गरेको छ।

लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीका ८० वर्षीय ठकाई यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले आफ्नै गाउँस्थित शिवमन्दिरबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार यादव लामो समयदेखि साधुबाबा तथा पुजारीको भेषमा मन्दिरमा बस्दै आएका थिए।

प्रहरीका अनुसार २०४१ साल वैशाख १ गते खरुक्याहीमा लागेको वैशाखे मेलाका क्रममा मन्दिरमा बोका चढाउने विषयमा विवाद भएको थियो। विवादले उग्र रूप लिएपछि यादवसहित ११ जनाले स्थानीय रजिन्द्र यादवलाई घेरा हाली कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका रजिन्द्रको उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि यादवसहितका प्रतिवादीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको थियो। अदालतले यादवलाई एक वर्ष कैद सजाय सुनाए पनि उनी सजाय भुक्तान नगरी फरार भएका थिए। त्यसयता चार दशकभन्दा बढी समयसम्म उनी प्रहरीको खोजी सूचीमा रहेका थिए।

लामो समयसम्म फरार रहेका यादव गाउँमै पुजारीको भेषमा बस्दै आएको सूचना पाएपछि प्रहरीले उनको गतिविधिमाथि निगरानी बढाएको थियो। निगरानीका क्रममा उनी शिवमन्दिरमा रहेको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो।

४३ वर्षसम्म पहिचान लुकाएर बसेका यादव पक्राउ पर्नुले अपराधको सजायबाट लामो समयसम्म उम्किन सकिन्छ भन्ने भ्रमलाई समेत चिरेको प्रहरीको कारबाहीले देखाएको छ। घटना पुरानो भए पनि अदालतको फैसला कार्यान्वयन गराउने प्रहरीको प्रयासले कानुनको पहुँचबाट अपराधी उम्किन नसक्ने सन्देश दिएको छ।

पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सिरहामा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार घटनामा संलग्न अन्य फरार प्रतिवादीमध्ये ११ जनाकै मृत्यु भइसकेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस