२०८३ भाद्र ३ गते, बुधबार १८:१८

स्ट्रेट अफ होर्मुजलाई ‘अमेरिकाको नयाँ भूभाग’ भन्दै ट्रम्पले सार्वजनिक गरे नक्सा

काठमाडौं –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन्।

ट्रम्पले मंगलबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत यस्तो दाबी गरेका हुन्।

ट्रम्पले सार्वजनिक गरेको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ। त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ।

यसअघि न्यूयोर्कमा आयोजित एक कार्यक्रममा ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरेपछि स्ट्रेट अफ होर्मुजलाई अमेरिकाको भूभाग घोषणा गर्ने योजना रहेको बताएका थिए।

इरानले भने ट्रम्पको दाबी अस्वीकार गर्दै होर्मुज जलडमरूमध्यमाथि आफ्नो नियन्त्रण कायम रहेको जनाएको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसिन रजाईले अमेरिकाले युद्ध र नाकाबन्दी अन्त्य नगरेसम्म, रोक्का गरिएका इरानी सम्पत्ति फिर्ता नगरेसम्म तथा लेबनान र गाजासहितका क्षेत्रमा युद्धविरामका लागि सहमत नभएसम्म होर्मुज जलडमरूमध्य बन्द रहने बताएका छन्।

इरानले होर्मुजको ठूलो हिस्सा गुमाएको सीएनएनको दाबी

होर्मुज जलडमरूमध्यमाथि नियन्त्रणका लागि जारी संघर्ष इरान युद्धको प्रमुख केन्द्र बनेको छ।

पछिल्ला केही महिनायता इरान र अमेरिका दुवैले होर्मुज जलडमरूमध्यमाथि आफ्नो पकड बलियो रहेको दाबी गर्दै आएका छन्। तर पछिल्लो तथ्यांकले अमेरिकी नौसेनाको सक्रिय उपस्थितिबीच इरानले उक्त महत्त्वपूर्ण जलमार्गमाथिको आफ्नो नियन्त्रणको ठूलो हिस्सा गुमाउँदै गएको देखाएको सीएनएनले जनाएको छ।

जहाजका ट्रान्सपोन्डर र स्याटेलाइट डेटामार्फत निगरानी गर्ने कम्पनी केप्लरका अनुसार पछिल्ला दुई सातामा होर्मुज जलडमरूमध्य हुँदै भएका जहाज आवागमनमध्ये ८० प्रतिशतभन्दा बढी ओमानतर्फको मार्गबाट भएका छन्। यो संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त सामुद्रिक मार्ग हो, जसको इरानले लामो समयदेखि विरोध गर्दै आएको छ।

इरानले होर्मुज जलडमरूमध्य आफ्नो नियन्त्रणमा रहेको घोषणा गर्दै ओमानको उत्तरी तट हुँदै जलमार्ग पार गर्न खोज्ने दर्जनौँ जहाजमाथि आक्रमण गरेको छ। तर आक्रमणको जोखिमका बाबजुद पछिल्लो समय अधिकांश जहाजले इरानको चेतावनी बेवास्ता गर्दै अमेरिकी नौसेनाको सुरक्षाको आश्वासनसहित उक्त मार्ग प्रयोग गर्न थालेका छन्।

केप्लरका कच्चा तेल विश्लेषण प्रमुख होमायुन फलाक्शाहीले इरानले जलडमरूमध्यमाथिको नियन्त्रण कम्तीमा आंशिक रूपमा गुमाएको देखिएको बताएका छन्।

एक महिनामै बदलियो अवस्था

केप्लरका अनुसार एक महिनाअघि ओमानतर्फको मार्गबाट लगभग कुनै पनि व्यावसायिक जहाज आवागमन भएको थिएन। अहिले भने यही मार्ग प्रमुख विकल्प बनेको छ।

इरानले प्राथमिकता दिएको मार्गमा जहाजको आवागमन घटेपछि उसले होर्मुज हुँदै जाने जहाजबाट शुल्क उठाउने अवसरसमेत गुमाएको छ। यसअघि वसन्त ऋतुमा इरानले यस्तो शुल्क उठाउँदै आएको थियो।

अमेरिका र इरानबीचको समझदारीपत्र (एमओयू) यसै साता समाप्त भएपछि सैद्धान्तिक रूपमा इरानले पुनः जहाजबाट शुल्क लिन सक्ने अवस्था बनेको छ। तर व्यवहारमा उसले त्यस्तो शुल्क उठाउन सकेको देखिएको छैन।

ऊर्जा विज्ञ डान पिकरिङका अनुसार मध्यपूर्वका अधिकांश पक्ष इरानलाई यस्तो शुल्क तिर्न इच्छुक छैनन्। त्यसैले ओमानतर्फको मार्ग नै जहाजका लागि सबैभन्दा व्यावहारिक विकल्प बनेको छ।

तेल ट्यांकरले अपनाए ‘डार्क ट्राफिक’

कुवेत, साउदी अरब र यूएईले विश्वकै ठूला तेल ट्यांकरमध्ये पर्ने ‘भेरी लार्ज क्रुड क्यारियर’ (भीएलसीसी) चार्टर गरी फारसको खाडीबाट होर्मुज जलडमरूमध्य हुँदै तेल बाहिर पठाइरहेका छन्। उनीहरूले खाडीको जोखिमपूर्ण क्षेत्रभन्दा बाहिर ओमानको खाडीमा ग्राहकका ट्यांकरमा तेल स्थानान्तरण गर्ने गरेका छन्।

इरानी आक्रमणबाट बच्न कतिपय ट्यांकरले आफ्नो ट्रान्सपोन्डर बन्द गर्ने गरेका छन्। यस्तो गतिविधिलाई ‘डार्क ट्राफिक’ भनिन्छ।

ट्रान्सपोन्डर बन्द गरिएका कारण परम्परागत जहाज निगरानी प्रणालीले यस्ता जहाजको आवागमन पूर्ण रूपमा पहिचान गर्न कठिन हुन्छ। यद्यपि, केही जहाजलाई स्याटेलाइटमार्फत पहिचान गर्न सकिन्छ।

अमेरिकाले भने होर्मुज जलडमरूमध्यमा ठूलो सैन्य शक्ति परिचालन गरेको छ। अमेरिकी अधिकारीहरूले परम्परागत अनुमानभन्दा जलमार्गमा तेल ढुवानीको मात्रा निकै बढी रहेको बताएका छन्।

अमेरिकी ऊर्जा सचिव क्रिस राइटले गत साता होर्मुज हुँदै र वैकल्पिक मार्गबाट ढुवानी भइरहेको तेलको संयुक्त मात्रा एक साताको अवधिमा दैनिक करिब १ करोड ५० लाख ब्यारेल रहेको बताएका थिए। युद्ध सुरु हुनुअघि दैनिक औसत करिब २ करोड ब्यारेल तेल ढुवानी हुने गरेको थियो।

अमेरिकाको ‘पूर्ण नियन्त्रण’ दाबीमा प्रश्न

यही तथ्यांकका आधारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकाले होर्मुज जलडमरूमध्यमाथि ‘पूर्ण नियन्त्रण’ कायम गरेको दाबी गरेका थिए। उनले यसअघि पनि पटक–पटक यस्तै दाबी गर्दै आएका छन्।

तर इरानले अझै पनि जहाजमाथि आक्रमण गरिरहेको र तेलको आवागमन युद्धअघिको स्तरभन्दा निकै कम रहेकाले अमेरिकाले जलडमरूमध्यमाथि पूर्ण नियन्त्रण कायम गरेको दाबीमा प्रश्न उठेको छ।

विश्लेषकहरूका अनुसार जलडमरूमध्यमा न त इरानको पूर्ण नियन्त्रण छ, न त अमेरिकाको।

ऊर्जा विज्ञ पिकरिङका अनुसार इरानको उद्देश्य जलडमरूमध्यमाथि पूर्ण नियन्त्रण कायम गर्नु भन्दा आफ्नो प्रभाव र प्रतिरोध क्षमता देखाउनु हुन सक्छ। उनका अनुसार इरानले अझै पनि जहाजहरूलाई केही हदसम्म रोक्न सक्ने क्षमता राख्छ।

तर अमेरिकाले दाबी गरेजस्तै ठूलो मात्रामा तेल ट्यांकरहरू होर्मुज हुँदै आवतजावत गरिरहेका छन् भने एक–दुई महिनाअघिको तुलनामा इरानको प्रतिरोध क्षमता र जलडमरूमध्यमाथिको नियन्त्रण स्पष्ट रूपमा कमजोर भएको देखिन्छ।

यसैबीच, ओमान र इरानले अमेरिकी सहभागिताबिना होर्मुज जलडमरूमध्यमा स्वतन्त्र सामुद्रिक आवागमन पुनःस्थापित गर्ने विषयमा वार्ता गरिरहेका छन्। यस वार्ताले जलमार्गबाट हुने तेल ढुवानी र त्यसको नियन्त्रणमा कस्तो प्रभाव पार्छ भन्ने अझै स्पष्ट भइसकेको छैन।

सीएनएनका अनुसार तेल बजार विश्लेषक एन्डी लिपोले होर्मुजको अवस्थाबारे आएका सबै दाबी र समाचारलाई सावधानीपूर्वक हेर्न आवश्यक भए पनि इरानले जलडमरूमध्यमाथिको आफ्नो नियन्त्रण आंशिक रूपमा गुमाएको निष्कर्ष निकाल्नु उचित हुने बताएका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस