रसुवा –
चीनतर्फबाट आएको अत्यन्तै ठूलो बाढीका कारण रसुवा हुँदै बग्ने भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव अस्वाभाविक रूपमा बढेको छ। बुधबार बिहान करिब साढे ८ बजेदेखि आएको बाढीले तिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनास्थलको अवस्था अत्यन्तै नाजुक रहेको र प्रभावित क्षेत्र आसपास बस्नसमेत नसक्ने अवस्था सिर्जना भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार बाढीको बहाव यति तीव्र छ कि माथिल्लो क्षेत्रबाट समेत तल्लो भागको अवस्था स्पष्ट रूपमा देख्न सकिएको छैन।
“बाढी अत्यन्तै हिंस्रक छ। हामी ज्यान जोगाएर माथितिर भागेका छौँ। तलतिरको अवस्था नाजुक छ। माथिबाट पनि केही देखिएको छैन,” ती अधिकारीले भने।
हालसम्म कति मानिस हताहत भए र कति भौतिक क्षति भयो भन्ने यकिन विवरण प्राप्त हुन सकेको छैन। बाढीका कारण प्रभावित क्षेत्रमा पुग्नसमेत कठिनाइ भइरहेको अधिकारीले बताएका छन्।
उनका अनुसार तिमुरे बजार क्षेत्रमा ठूलो क्षति पुगेको देखिएको छ। “माथिबाट हेर्दा त्यहाँ धेरै ठूलो क्षति भएको देखिन्छ। तिमुरे बजारतिर पनि धेरै नोक्सान भएको जस्तो देखिएको छ,” उनले भने।
रसुवा भन्सार कार्यालयको अवस्थाबारे पनि यकिन जानकारी प्राप्त हुन सकेको छैन। बाढी खोलाको किनार हुँदै सडकसम्म आइपुगेकाले भन्सार क्षेत्रको अवस्थासमेत प्रत्यक्ष रूपमा निरीक्षण गर्न नसकिएको अधिकारीले बताए।
“भन्सारको अवस्था पनि माथिबाट केही देखिएको छैन। खोलाको किनार हुँदै सडकसम्म बाढी आएको छ। त्यसैले तलको अवस्था झन् गम्भीर हुन सक्ने देखिन्छ,” उनले भने।
बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर फोटो तथा अन्य विवरण संकलन गर्नसमेत सम्भव नभएको बताइएको छ। तीव्र बहाव र जोखिमका कारण उद्धारकर्मी तथा सुरक्षाकर्मीलाई तल्लो क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ।
प्रारम्भिक जानकारीअनुसार बुधबार बिहान करिब साढे ८ बजेतिर चीनतर्फबाट आएको बाढी रसुवाको सीमावर्ती क्षेत्रमा प्रवेश गरेको हो। बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा पानीको सतह र बहाव तीव्र रूपमा बढेको छ।
घटनापछि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले उद्धार तथा राहतका लागि आवश्यक तयारी थालेका छन्। साथै, क्षतिको विवरण संकलन गर्ने प्रयास भइरहेको छ। तर बाढीको तीव्र बहाव र जोखिमका कारण प्रभावित क्षेत्रमा तत्काल पुग्न कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।
घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने अझै प्राप्त हुन बाँकी छ।











