२०८३ भाद्र १० गते, बुधबार २१:३४

रसुवा बाढी : ४३१.१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर, दर्जनौँ कर्मचारी सम्पर्कविहीन

काठमाडौं –

रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण ४३१.१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार भोटेकोशी नदी बेसिनमा प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रबाट सञ्चालित १२ वटा उत्पादन केन्द्र बन्द भएका छन् । बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना १११ मेगावाट, सान्जेन जलविद्युत् आयोजना ७८ मेगावाट, माथिल्लो सान्जेन १४।८ मेगावाट, सान्जेन ४२।५ मेगावाट, चिलिमे जलविद्युत् केन्द्र २२ मेगावाट, लाङटाङ जलविद्युत् आयोजना २० मेगावाट, माथिल्लो त्रिशूली–३ ए ६० मेगावाट, माथिल्लो मैलुङ १४।८ मेगावाट, मैलुङ ५ मेगावाट, त्रिशूली जलविद्युत् केन्द्र २४ मेगावाट, देवीघाट जलविद्युत् केन्द्र १४ मेगावाट र नेपाल विद्युत् प्राधिकरणको २५ मेगावाटको सोलार आयोजना प्रभावित भएका छन् ।

त्यस्तै, नदी बेसिनमा प्राधिकरणका सहायक कम्पनी तथा निजी प्रवद्र्धकबाट निर्माणाधीन करिब ४७० मेगावाट क्षमताका १५ वटा आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा कार्यरत कर्मचारी र कामदारसमेत सम्पर्कविहीन भएका छन् । त्रिशूली जलविद्युत् कम्पनीले निर्माण गरिरहेको त्रिशूली–३ बी आयोजनाको साइटमा कार्यरत २१ जना कर्मचारी सम्पर्कविहीन रहेको जनाइएको छ ।

चिलिमे जलविद्युत् केन्द्रको पावर हाउस क्षेत्रमा रहेका ६ जना तथा आवास क्षेत्र आसपास रहेका एक जना पनि सम्पर्कविहीन छन् । चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको चेस्को कम्पनीमा कार्यरत तथा त्रिशूली–३ बी आयोजनाको साइटमा रहेका थप ११ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

रसुवागढी जलविद्युत् केन्द्रमा विभिन्न निकाय तथा ठेकेदारमार्फत मर्मतसम्भार र निर्माण कार्यमा खटिएका ९२ जना पनि सम्पर्कविहीन छन् । यस्तै, त्रिशूली–३ ए जलविद्युत् केन्द्रको पावर हाउसमा मर्मत कार्यमा संलग्न ४५ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेका छन् ।क

त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत एक–एक जना कर्मचारी तथा रसुवा वितरण केन्द्रअन्तर्गत चिलिमे पावर हाउसको स्वीचयार्डमा कार्यरत एक जना र गोटागन्तीका एक मिटर रिडर पनि सम्पर्कमा नरहेको प्राधिकरणले जनाएको छ ।

त्रिशूली २२० केभी ३ बी हबमा ठेकेदारमार्फत कार्यरत १६ जना पनि सम्पर्कविहीन छन् । चिलिमे जलविद्युत् केन्द्रमा कार्यरत अन्य कर्मचारीको अवस्थाबारे पनि सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण रसुवा जिल्लामा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ भने नुवाकोट, धादिङ र गोरखाका केही क्षेत्रमा आंशिक रूपमा विद्युत् सेवा प्रभावित भएको छ । धादिङको जहरे ३३ केभी सबस्टेशनमा करिब पाँच फिट लेदो जमेकाले डोजर प्रयोग गरी सफाइको काम भइरहेको छ । विभिन्न स्थानमा ११ केभीका पोल तथा ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ ।

प्रसारणतर्फ त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेशन पूर्णरूपमा क्षतिग्रस्त भएको छ । चिलिमे २२० केभी हबका टावर अवरुद्ध भएपछि उक्त संरचना बन्द भएको छ । समुद्रटार १३२ केभी प्रसारण लाइन, चिलिमे–त्रिशूली ६६ केभी प्रसारण लाइन, चिलिमे हब–त्रिशूली ३ बी हब–मातातीर्थ २२० केभी प्रसारण लाइन तथा त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइनसमेत अवरुद्ध भएका छन् । केही अन्य प्रसारण लाइनका टावरमा समेत समस्या देखिएको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा प्राधिकरणका कार्यकारी निर्देशकसहितको टोलीले स्थलगत अनुगमन गरेको छ । जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्न अर्को टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

सम्पर्कविहीन कर्मचारी तथा उत्पादन र प्रसारण संरचनामा रहेका व्यक्तिसँग सम्पर्क स्थापित गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी खोज तथा उद्धार कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, वैकल्पिक उपायबाट विद्युत् सञ्चालन गर्न सकिने स्थानमा प्रणाली पुनः सञ्चालनको प्रयास भइरहेको छ । सिन्धुपाल्चोकतर्फ समुद्रटार क्षेत्रमा प्रणाली सञ्चालनमा ल्याएर घोटा सबस्टेशन सञ्चालन गर्ने प्रयास भइरहेको छ ।

गुजुरीदेखि गल्छीसम्मका क्षेत्रमा धादिङबेँसी सबस्टेशनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ । सम्भव भएका अन्य क्षेत्रमा पेट्रोलिङ गरी क्षतिग्रस्त संरचना मर्मत गरेर विद्युत् सेवा पुनः सञ्चालन गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

सम्पर्कविहीन कर्मचारी तथा सर्वसाधारणको खोज तथा उद्धारका लागि प्राधिकरणले १५ भन्दा बढी सवारीसाधन प्रभावित क्षेत्रमा परिचालन गरेको छ ।

प्राधिकरणले राहत तथा उद्धारसम्बन्धी समन्वयका लागि सहायक प्रशासकीय अधिकृत रामशरण उप्रेती ९९८४१३६६७८०० र सहायक इन्जिनियर टंक पौडेल ९९८५१४७४५५५०० लाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

बाढीका कारण विद्युत् प्रणालीमा परेको प्रभावलाई व्यवस्थापन गर्दै प्रणालीलाई यथासक्य चाँडो नियमित सञ्चालनमा ल्याउन विद्युत् प्रणाली सञ्चालन विभागलाई आवश्यक निर्देशनसमेत दिइएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस